मात्र एक जितको पर्खाई - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

मात्र एक जितको पर्खाई



काठमाडौं- कप्तान पारस खड्काले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी अर्ध शतक प्रहार गरेसँगै आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ ।

यो जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ । भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ ।

जितसँगै नेपाल शीर्ष स्थानमा दौडमा एक कदम नजिक पुगेको छ। मात्र एक जितको पर्खाईमा रहेको नेपालले आइतबारको खेल जित्नु एक मात्र विकल्प हो ।

अब नेपालले आइतवार हुने सिङ्गापुरविरुद्धको अन्तिम खेलमा विजय प्राप्त गरे टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ।

यो सँगै नेपालको अघिल्लो चरण झनैं सहज बनेको छ । टी२० आईमा नेपालले पछएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । सर्वाधिक छिटो जित समेत हो । आइतबार आयोजक सिंगापुरलाई हराउन सके नेपाल अर्को चरणमा प्रवेश गर्ने छ । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालको जितमा कप्तान पारस खड्का नायक बने । पारसले ४२ बलमा ११ चौका र १ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । पारसले ३२ वलमा आफ्नो टी २० आईको तेस्रो अर्ध शतक पुरा गरेका थिए । १४ औं ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा पारस शिराज खानबाट क्याच आउट हुन पुगे । पारसले दोेस्रो विकेटका लागि शरद भेषवाकरसँग ७८ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए ।

शरद भेषवाकर ३० बलमा ४ चौका र १ छक्का सहित ३८ रन जोड्दै नेपालको सहज जित पक्का गरे । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । रोहित ६ रनमा अविजित रहे । पारस र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मोहम्मद काशिफले बिलाल ताहिरबाट क्याच गराउनु अघि मल्लले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । कुवेतका लागि कप्तान मोहम्मद काशिफले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस हारेर पहिला पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । कुवेतका लागि कप्तान मोहम्मद काशिफले विश्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

दोस्रो ओभरको पहिलो बलमै करण केसीले कट निकाल्दै विकेटकीपर विनोद भण्डारीबाट ओपनर मिट भावसारलाई ५ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पहिलो बलमा वसन्त रेग्मीले रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा वसन्तले अदनान आर्डिसलाई शरद भेषवाकरबाट २५ रनमा क्याच आउट गराउँतै कुवेतलाई दबाबमा राखेका थिए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले १४ बलमा ५ चौका प्रहार गरे ।

सन्दीप लामिछानेको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा विलाल ताहिर पारस खड्काबाट १३ रनमा क्याच आउट हुन पुगे । लगत्तै दुईबलपछि सन्दीपले उस्मान वहीदलाई शून्यमा एलवी डब्लू आउट गरे । १४ ओभरको पाँचौ बलमा अभिनाष बोहोराले वसन्तबाट मोहम्मद अस्लामलाई २३ रनमा क्याच आउट गराए । उनले २५ बलमा २ चौका प्रहार गरे । १५ औं ओभरको पाँचौ बलमा सन्दीपले सिराज खानलाई शुन्यमा बोल्ड आउट गरे । वसन्तले मोहम्मद अहसानलाई ४ रनमा क्याच आउट गराए ।

कुवेतलाई सस्तैमा रोक्न नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । वसन्तले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै करण केसी २ र अभिनाष बोहोराको नाममा १ विकेट रह्यो ।

यो जितसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै ३ खेलमा २ मा जित सहित ५ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । आईतबार नेपाल र सिंगापुरको विजेता टोली ग्लोबल छनोटमा स्थान बनाउने छ । कुवेत,मलेसिया र कतार भने बाहिरिएका छन् ।