माटोको भाँडा बनाएर जीवन निर्वाह गर्दै डुङ्गाली - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

माटोको भाँडा बनाएर जीवन निर्वाह गर्दै डुङ्गाली



विशाल पाण्डेय / सुखड,कैलाली ।

मोटोका भाँडा बनाउँदैमा उनको करिब ४ दशक बित्यो । उमेरले ५१ बर्ष पुगेपनि उनी अझै यही पेशामा रमाइरहेका छन् । उनी अर्थात् , डुङ्गाली डगौरा थारु । कैलालीको घोडाघोडी नगरपालिका-३ बगुलिया निवासी डुङ्गालीले १२ बर्षको उमेर मै आफ्नो बुबासंग माटोको भाँडा बनाउने काम सिके । आफू सानो छदै घरमा बुबा आमाले माटोको भाडाकुडा बनाउदै गर्दा आफुले पनि त्यही सिकेको डुङ्गालीले बताए । उनले भने , “धेरै बर्ष अघि दाङको देउखुरीबाट मेरो बुवाआमा बसाइँसराइ गरि यहाँ आउनु भो , म त यहीँ जन्मे र बुबासंग यो काम सिकेर अहिले निरन्तरता दिइरहेको छु ।”

माटाका भाडाकुडा बनाइ जीवनयापन गर्दै आइरहेका डुङ्गालीलाई काममा उनकी श्रीमतीले सहयोग गर्दै आइरहेकी छिन् । श्रीमतीलाई माटोको भाडा बनाउन नआएपनी माटो मुछ्ने देखि पोल्दासम्म भने उनले साथ दिइरहेको डुङ्गालीले बताए ।

डुङ्गालीले घैँटा, भुर्की, खुतुर्के, ठेकी, गमला, पाला लगायतका भाँडाहरु बनाइ बिक्रि गरि महीनामा रु १० हजारदेखि १५ हजारसम्म चोखो आम्दानी गरीरहेको बताए ।

उनका तीन छोरा र तीन छोरीहरु पनि छन् । आफुले माटोको भाडाकुडा बनाएर बिक्रि गरि छोराछोरीलाई पढाएको बताए । उनले भने , “आफुले त पढ्न नपाएर औठा छाप बनियो तर , छोराछोरीको भविस्यको लागि उनिहरुलाई यस्तो काम नसिकाइ पढ्न पठाए ।” तीन छोरीहरुसबैको बिहे भएर घरजम गरि बसिरहेका छन् भने छोराहरुले पनि बिहे गरि आफ्नो -आफ्नो काम गरि बसिरहेको छन् । उनले थपे , जेठो छोराले बर्दियाको एक बैंकमा जागिर गरिरहेको छ भने , माइला र कान्छो छोरो बर्दियाको ठाकुर द्बारमा होमस्टे संचालन गरि बसिरहेका छन् ।

नजिकै नदिबाट माटो ल्याइएर बनाइएको भाडाहरु दाउरामा पोल्ने गरिएपनी पर्याप्त मात्रामा दाउरा नहुदा भने पोल्न गाह्रो हुने बताए । अहिले जसोतसो दाउरामा पोलेपनी अबका दिनमा भने दाउरा उपलब्ध नहुदा के मा पकाउने हो भन्ने चिन्ताले सताएको उनले गुनासो गरे । उनले भने, “अब दाउरा पाइन छाड्यो , भुस त छ तर त्यो बाट आफुलाइ पोल्न आउदैन । यदि भुसमा पकाउने तरिका सिक्न पाए राम्रो हुन्थ्यो ।” डुङ्गालीले केही दिन अघि मुढा बनाउने काम पनि सिकेको बताए । केही पनि तालिम नलिइ हेरेर मुढा बनाउन सिकेर अहिले आफुले पनि बनाउन सुरु गरेको समेत उनले बताए ।