माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु , एक गम्भीर घाइते
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-३ मा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
ढिस्कोले पुरिएर शिखर नगरपालिका-११ की तीन वर्षीय यशोदा बलायरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिए । बालिका यशोदा मामाको घरमा आएकी थिइन् ।
सडक खनेको ठाउँमा खेल्दै गर्दा माथिबाट पहिरो खस्दा यशोदा पुरिएको बताइएको छ । पहिरोमा परी स्थानीय ५६ वर्षीय तेजबहादुर साहु गम्भीर घाइते भएको दिपायल प्रहरीले जनाएको छ । केही दिन पहिले यो टोलमा जेसीबीले सडक खनेको थियो । गम्भीर घाइते साहुको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।