अब ११ र १२ मा गणित विषय पढ्न नपर्ने ! - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

अब ११ र १२ मा गणित विषय पढ्न नपर्ने !



काठमाडौं । कक्षा ११ र १२ बाट गणित विषय हटाइएको छ ।गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क सहित सरोकारवालाले विरोध गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । वायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यस्था गरिएको छ । गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले विश्वमा गणितलाई महत्व दिइए पनि नेपालमा नदिइनु दुर्भाग्य भएको बताए । उनले ‘गणित विज्ञान तथा प्रविधिको आधार स्तम्भ र मेरुदण्ड हो । तर हाम्रो देशमा त्यसलाई बिगारेर कसरी समृद्धि हासिल गर्ने ?’

‘भौतिक विज्ञान विषय पढ्ने तर सो विषय पढ्न आधारभूत रुपमा ज्ञान हुनु पर्ने गणित भने पढ्न नपाउने व्यवस्थाले गणित विनाको भौतिकशास्त्र कसरी पढाउने हो गम्भीर समस्या आउने प्रस्ट छ ।’ विदेश पढ्न जानुपर्‍यो भने जीआरई, जीम्याट, स्याट उत्तीर्ण गर्नुपर्छ जसमा गणितसमेत परीक्षा दिनुपर्छ । लोकसेवा आयोगमा समेत गणितको ज्ञान अनिवार्य छ ।

त्रि।वि। का उपप्राध्यापक खगेन्द्र अधिकारीले भन्छन्, ‘डाक्टर, इन्जिनियर, पाइलट, कृषि विज्ञलगायतका विशिष्ट प्राविधिक विषयमा आफ्नो भविश्य खोज्ने विद्यार्थीहरुलाई सोही क्षेत्रका विषयहरु नै जीवन उपयोगी हुन्छन् । तर यो पाठ्यक्रमले यी समूहका विद्यार्थीहरुका लागि जीवनउपयोगी विषयको रुपमा कस्तो विषय ल्याउन खोजेको छ, बढो विरोधाभाषपूर्ण छ ।’