मतदाता परिचयपत्र वितरण आजदेखि
काठमाडौँ, असार ११ गते ।
असार १४ गते बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि तीन प्रदेशका ३३४ स्थानीय तहका मतदातालाई आइतबारदेखि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिइने भएको छ । असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट जम्मा ६४ लाख ३२ हजार ७६५ जना मतदातालाई परिचयपत्र प्रदान गरिनेछ । आयोगका सहसचिव नवराज ढकालले मतदाता परिचयपत्रसँगै सही तरिकाले मतसङ्केत गर्न सिकाइने बताउनुभयो । त्यसका लागि आयोगले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्तालाई खटाएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्नेछ । त्यस प्रयोजनका लागि आयोगले सुरक्षाकर्र्मीबाहेक ६६ हजार ९०० कर्मचारी परिचालन गरेको छ ।
सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार हरेक मतदान केन्द्रमा खटिएका मतदाता परिचयपत्र लिन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर स्वयं जानुपर्नेछ । मतदान स्थलमा जान नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, अशक्तहरूको मतदाता परिचपय लिनका लागि एकाघरको परिवारको सदस्य भएको यकिन गरी दिने व्यवस्था आयोगले मिलाएको छ ।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउने नीतिअनुसार तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने व्यवस्था गरेको छ । दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ मा गरी प्रति मतदान केन्द्र कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब आठ हजार ३५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको छ । यसका साथै आमसञ्चार माध्यम छापा, रेडियो, टेलिभिजन, एफएम रेडियोमा स्थानीय भाषाहरूमा समेत मतदातासँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रकाशन तथा प्रसारण भइरहेको छ ।
नेपालमा बोलिने राष्ट्र भाषाहरूमध्ये १६ राष्ट्र भाषामा मतदाता शिक्षा सामग्री तयार गरी वितरण गरिएको छ । मतदाता शिक्षालाई बढी प्रभावकारी बनाउन आम सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवारहरूको पनि पर्याप्त सहयोग हुने विश्वास आयोगले लिएको छ ।
दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यकर्तालाई बढी जिम्मेवार बनाइएको छ ।
मतदान केन्द्रमा सक्कलै मतपत्र अवलोकलन गर्ने व्यवस्थासमेत मिलाइएको र विभिन्न स्थानीय भाषामा तयार पारिएका मतदाता शिक्षा सामग्रीहरू वितरण गरिएको छ । साथै विभिन्न कलाकारहरूको संलग्नतामा तयार पारिएका निर्वाचन सामग्रीहरू तयार गरी स्थानीय एफएम रेडियो, टेलिभिजनबाट प्रसारण भइरहेको आयोगले जनाएको छ । साथै सडक नाटक र नमुना मतदान कार्यक्रमसमेत सञ्चालन गरिएको छ । महिला, दलित वा अल्पसङ्ख्यकको प्रतिनिधित्वलाई प्रोत्साहन गर्न विशेष मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ ।