एमाले महाधिवेशनको मतदान स्थगित
काठमाडौं- नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको मतदान तत्कालका लागि स्थगित गरिएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ ।
यससँगै महाधिवेशनको समय निर्धारित समयभन्दा बढी लम्बिने पक्का भएको छ । निर्वाचन गर्ने तयारी गरिए पनि केन्द्रीय सदस्यहरूमा निर्विरोध गराउने प्रयास भैरहेकाले मतदान तत्कालका लागि स्थगित गरेर छलफल थालिएको छ ।
३०१ सदस्य निर्वाचित हुनुपर्ने केन्द्रीय कमिटीका लागि ३३१ जनाले मनोनयन दर्ता गराएकोमा केहीले फिर्ता लिएका छन् । बाँकीलाई पनि फिर्ता लिन लगाएर केन्द्रीय सदस्य बाहेक पदाधिकारीमा मात्र चुनाव गराउने तयारी छ ।
अधिकांश उम्मेदवारले फिर्ता लिइसकेकाले केहीलाई मनाएर छिटोछरितो मतदानको तयारीका लागि समय सारिएको निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए ।
पदाधिकारीमा भने अध्यक्ष,उपाध्यक्ष र सचिवमा चुनाव हुने भएको छ । मतदानको समय अनिश्चित भएपछि प्रतिनिधिहरु अन्यौलमा परेका छन् ।