एलन मस्कले ट्विटरको सेयर खरिद गरेपछि एकाएक उचालियो बजार मूल्य - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

एलन मस्कले ट्विटरको सेयर खरिद गरेपछि एकाएक उचालियो बजार मूल्य



वासिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको ठुलो हिस्सा सेयर खरिद गरेका छन् । केही समय अगाडि मात्र ट्विटरकै नीतिबारे आलोचना गरेका मस्कले यसैको ९.२ प्रतिशत स्टक किनेर सबैलाई आश्चर्यमा पारेका हुन् ।

ट्विटरले स्वतन्त्र बोलीको नीति अपनाउन नसकेको भन्दै मस्कले विभिन्न आलोचनात्मक टिप्पणी गरेका थिए ।

यस्तोमा मस्कसँग अब ट्विटरको ७ करोड ३४ लाख भन्दा बढी सेयर भएको छ । यो भनेको २.८९ अर्ब डलर बराबरको सेयर हो ।

उनले ट्विटरमाथि सबैको साझा सञ्जाल भएर पनि स्वतन्त्र बोलीको अधिकार पूर्ण रूपमा निभाउन नसकेको र लोकतन्त्रको अवहेलना गरेको आरोप लगाएका थिए । यति मात्र नभएर उनले समाधानमा के गर्ने होला भन्ने प्रश्न समेत राखेका थिए ।

मस्कले ट्विटरको सेयरमा हात हाल्नासाथ केही न केही उतारचढाव हुनेछ भनेर लगानीकर्ताहरू पर्खाइमा थिए । र, वास्तवमै यो खबर बाहिरिनासाथ कम्पनीको सेयर मूल्य २५ प्रतिशतले बढेको छ ।

मस्क ट्विटरका नियमित प्रयोगकर्ता पनि हुन् । उनी यसमा दैनिक सक्रिय रहेर ट्विट गर्ने गरेका छन् भने उनका ८ करोड भन्दा धेरै फलोअरहरू छन् ।