कार्यकक्षमै सहयोगीबाट मसाज गराउने नगरप्रमुख - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कार्यकक्षमै सहयोगीबाट मसाज गराउने नगरप्रमुख



काठमाडौँ । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको कार्यकक्षमै मसाज गरेको तस्वीर भाइरल भएको छ । मेयर दासले कार्यकक्षको सोफामा आराम गरेर मसाज गराउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

मेयर दासको खुट्टा मसाज गरिरहेका उनकै कार्यालय सहयोगी रहेको बुझिएको छ । उक्त तस्वीर भाइरल बनेपछि मेयर दासको आलोचना भएको छ ।

नगरप्रमुख बेचनसँग फाेन सम्पर्क गर्दा सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर जेठ महिनाको रहेकाे बुझिएको छ । कोरोना संक्रमण भई ६० दिनसम्म औषधि खाएर निको भएर बसेपछि कोरोना खोप लगाएको र त्यसले स्वास्थ्य अवस्था कमजोर बनाएको मेयर बेचनकाे भनाइ छ। स्वास्थ्य अवस्था कमजोर भएर पनि कार्यालयको कामलाई निरन्तरता दिइरहेको अवस्थामा एक्कासी रिँगटा लागेर ढलेपछि कार्यालय सहयोगी आफ्नै भाइले मसाज गरिदिएको उनले बताए ।

उनले भने,‘यो जेठ महिनाको फोटो हो । त्यो बखतमा कोरोनाको दोस्रो खोप लगाएको थिएँ । दोस्रो खोप लगाउँदा मलाई जिउ सन्चो भएन । कार्यालयमा बस्दा ज्वरो आयो । फेन्ट जस्तै भएर लडेँ । लडेँको ठाउँबाट उठेर सोफामा सुतेँ । अनि कार्यालय सहयोगी (आफ्नै भाइ)ले मालिस गरिदिएको हो ।’

उक्त फोटो सोही नगरपालिका -४ का वडाध्यक्षले झ्यालबाट खिचेको नगरप्रमुख दासको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल तस्वीरबारे बोल्दै मेयर बेचनले भने, ‘फोटो चार नम्बरको वडाध्यक्ष विनोद गोहितमानले झ्यालबाट खिचेको हो ।’ नगरप्रमुख बेचन माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्ष गोहितमान पनि माओवादी केन्द्रकै जनप्रतिनिधि भएको बेचनले बताए ।