मर्यादाविपरित सूचना माग्नु गलत हो: प्रधानमन्त्री - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मर्यादाविपरित सूचना माग्नु गलत हो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । तर, सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्न सचेत गराएका छन् ।

राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया अनुसरण गरी सूचनाको हक उपयोग गर्न आग्रह गरेका छन् ।

राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँच हनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताएका छन् । ‘कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुनेतर्फ समेत सजग गराउँछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने प्रधानमत्री ओलीको सन्देशमा उल्लेख छ ।

सरकार पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको उनले बताएका छन् ।