उत्तर प्रदेश र विहारमा भयावह हुने: मर्नकै लागि छोडिनेछ वृद्धहरू - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

उत्तर प्रदेश र विहारमा भयावह हुने: मर्नकै लागि छोडिनेछ वृद्धहरू



-बीबीसी- भारतका ग्रामीण क्षेत्रहरुमा ६० करोडभन्दा बढी मानिसको बसोबास छ । ग्रामीण क्षेत्रका भारतीयमध्ये धेरैजसो परीक्षण र उपचारबिनै कोरोना भाइरसको सिकार बन्‍ने त होइन भन्‍ने चिन्ता बढेको छ ।

नेसनल फेमिली हेल्थ सर्भे-४ को तथ्यांकअनुसार ग्रामीण जनसंख्याको २५ प्रतिशत मानिसहरुमात्रै सार्वजनिक स्वास्थ्य सेवाको पहुँचमा छन् । भारतका वृद्धवृद्धाहरुको ७० प्रतिशत जनसंख्या गाउँमा छ । उनीहरुको स्वास्थ्यबारे पनि चिन्ता बढेको छ ।

स्वास्थ्य सेवासम्म पहुँच नभएकै कारण भारतका गाउँहरुमा धेरै मानिसहरु गम्भीर बिरामीको उपचार पनि गराउन सक्दैनन् । यस्तो परिस्थितिमा ज्यानै जाने रोगको उपचार समयमै हुन सक्दैन ।

भारतका वरिष्ठ महामारी विशेषज्ञ जयप्रकाश मुलियल भारतको आधा जनसंख्यामा कोरोना संक्रमण पुग्‍ने दाबी गर्छन् । उनले ‘द गार्जियन’ सँग भारतका ग्रामीण क्षेत्रमा पहिलेबाटै गम्भीर रोगबाट ग्रसितहरुमध्ये धेरैजसोले कोरोनाको उपचार गराउन नसक्ने प्रतिक्रिया दिएका छन् ।

“ग्रामीण भेकका गम्भीर रोगबाट ग्रसित समूह र पाको उमेर भएकाहरु भाइरसको चपेटामा आउने खतरा बढी छ । सीमित संसाधनका कारण परिवार पाको उमेरका बिरामीलाई तत्काल अस्पताल लगेर जान सक्ने छैनन् । उनीहरुलाई मर्नका लागि छोडिनेछ । यो ग्रामीण भारतको सत्यता हो, जहाँ औसत आयु ६५ वर्षमात्रै छ,” उनले भनेका छन् ।

मुलियल भन्छन्, ‘‘भारतका कैयौं जिल्ला १० हजार वर्ग किलोमिटरभन्दा ठूला छन् । मृत्यु अलग-अलग क्षेत्रमा भइरहेको छ । यस्तो अवस्थामा मानवीय त्रासदीको पूरै तस्बिर कहिल्यै आउने छैन । आए पनि धेरै समय लाग्‍नेछ ।’’

ग्रामीण क्षेत्रको डर
सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुले ग्रामीण भारतमा फैलिने महामारी सहरी क्षेत्रको तुलनामा बिल्कुलै फरक हुने बताएका छन् ।

सहरमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढे पनि डाक्टर र स्वास्थ्यकर्मीहरुसँग त्यसविरुद्ध लड्न केही संसाधन छन् । भारतमा ८० प्रतिशत डाक्टर र ६० प्रतिशत अस्पताल सहरी क्षेत्रमा मात्रै छन् । बढी जनसंख्या भएको राज्य उत्तर प्रदेश र १० करोडभन्दा बढी जनसंख्या भएको राज्य बिहारमा अवस्था कठिन हुन सक्छ । दुबै राज्यहरुमा सार्वजनिक स्वास्थ्य सेवाहरु अत्यन्तै लाचार छन् ।

भारतका गरिब प्रान्तमध्येको एक बिहारमा ३० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखाभन्दा तल छन् । बिहारमा करिब ९० प्रतिशत जनसंख्या गाउँमा छ ।

२०१९ को नेसनल हेल्थ प्रोफाइल डाटाअनुसार बिहारमा हरेक १० हजार जनसंख्यामा केवल एक शय्या र चार डाक्टर मात्रै उपलब्ध छन् । राज्यमा भाइरल ज्वरो वा डेंगु फैलिँदा स्वास्थ्य सेवाहरुको अवस्था नराम्रोसँग प्रभावित हुन्छ ।

उत्तर प्रदेश सरकारका अनुसार अहिले प्रदेशमा कोरोना भाइरस संक्रमितको उपचारका लागि एक सय ३५ अस्पताल छन् । सरकारले ठूलो संख्यामा परीक्षण गर्ने लक्ष्य पनि राखेको छ । तर, पनि अझै संक्रमणको पूर्ण तस्बिर आउने सकेको छैन ।