मार्सी भातको करामत मेडिकल माफियाको पक्षमा विधेयक पारित
कर्ण बहादुर अधिकारी
समय गतिशील छ भन्थे हो रैछ।नेपालमा कम्युनिष्टका नाममा खोलिएका पार्टीको वर्तमान अवस्थामा गरिएको काम कार्बाही हेर्दा यिनी कम्युनिस्ट होइनन् कमाउनिष्ट हुन भन्ने कुरा प्रष्टिदै गएको छ।विदेशी माक्स,लेलिन,स्टालिन र माओलाई भगवान् सम्झिँदै उनीहरूको मन मस्तिष्कले चित्रण गरेको झण्डालाई नेपाली भूमिमा फर्फराउन माहिर बनेका कमाउनिष्टहरूले आज नेपाल र नेपाली जनतालाई घात गर्दै मार्सी भातको कार्बोहाईड्रेडसंगै रम्दै रमाउँदै चिकित्सक शिक्षा विधेयक पारित गरेको छ।
यो पारित गरिएको विधेयकलाई त्यति सहज र सरल ठानिँदैन कारण प्रतिपक्षमा रहेको काँग्रेसले विरोध गर्दा गर्दै र यो विधेयक पारित गर्नु हुँदैन भन्दै केही दिन अगाडी देखि आमरण अनसन बस्नु भएका डा. गोविन्द केसीको मागलाई लत्याउदै कम्युनिष्टका पगरी गुथेका कमरेड अर्थात् प्रतिनिधि सभाको सभामुख कृष्ण बहादुर महराको मुख्य भूमिकामा दुई तिहाइको नेकपाको दम्भ देखाउँदै हिटलर शैलीमा तानाशाह लाद्दै विधेयक पारित गर्नुलाई दुर्भाग्य पूर्ण रूपमा लिन सकिन्छ।कुनै सीमित व्यक्तिका फाइदाका लागि देशको बागडोर सम्हाल्नेहरूबाटै यस्ता घटिया काम कार्बाही हुन्छन् भने नेपाली जनताले कसरी विश्वास गर्नु आफैले भोट दिएर जिताएका कमाउनिष्टहरूलाई खैर जे भए पनि आज संसद्मा प्रतिपक्षको भावना र विरोधलाई पेलेर नै यो सरकारले चिकित्सक शिक्षा विधेयक ल्याउन सफल भयो तर यो सफलता सँगै नेपाली काँग्रेसले सडक र सदन दुवै ठाउँबाट सशक्त रूपमा विरोध र आन्दोलन गर्नेमा दुई मत नै छैन।हिजैबाट काँग्रेस सदन र सडकबाट आन्दोलनमा होमिएको छ।
२०४० साल देखि २०७३ साल सम्म आई पुग्दा आम नेपाली नागरिकको स्वास्थ्य सेवामा क्रियाशील ११ वटा स्वास्थ्य संस्थालाई सङ्घ अर्थात् केन्द्रको मातहतमा राख्ने गरी मन्त्री परिषद् बाट निर्णय गरिएको कुरालाई वर्तमान सरकारले ९ वटालाई केन्द्रमा र दुई स्वास्थ्य संस्था जि पी कोइरालाको नाममा खोलिएको राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्र सुक्ला गण्डकी ५ बेल चौतारा तनहुँ र सुशील कोइरालाको नाममा खोलिएको प्रखर क्यान्सर हस्पिटल नेपालगन्ज बाँकेलाई नियोजित तरिकाले हटाएर विघटनको तर्फ उन्मुख गराएको छ।यसबाट हामी के बुझ्छौ भने यो सरकार खुलेरै काँग्रेसको विरुद्धमा लागेको छ।तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा सरकारमा रहँदा देउवा सरकारले जारी गरेको चिकित्सक शिक्षा अध्यादेशलाई नै सर्वोपरि मान्दै केपी ओली सरकारले डा.गोविन्द केसीसँग गरेको सम्झौतालाई संसद्मा अनुमोदन गरिएको थियो तर आज त्यसको ठिक विपरीत यो सरकारले विधेयक जारी गर्नुलाई सफलताको सूचक मान्न सकिँदैन।यो त केवल दुई तिहाइको दम्भ हो।
यसरी नेपाली जनताले जनताका हितका लागि केही गर्छ की भन्ने आसले अमूल्य मतदान दिएर दुई तिहाइ बनाई दिएको यही दिन देख्नलाई रहेछ।कम्युनिस्ट सरकार किन र के का लागि भन्ने कुरा नेपाली जनताले बुझ्दछन्।डा.गोविन्द केसी जस्तो सच्चा देश र जनता भक्त व्यक्तिलाई नेपाली काँग्रेसको ट्याग भिराएर काँग्रेस देख्नु दुर्भाग्य हो।सादगी ब्यक्तित्व केसीले केवल स्वास्थ्य सेवा र पठन पाठन गरीव तथा असहायहरूको पहुँचमा जाउन भन्न कै लागि १६/१७ औ पटक आमरण अनसन बसेका हुन्।यो सरकारले बिस्तारै डा.गोविन्द केसीलाई मृत्यु शैयामा पुराउँदै छ।मेडिकल माफियाको नाम र मार्सी भातबाट परिचित दुर्गा प्रसाईँ जस्ता व्यक्तिहरूलाई फाइदा पुग्ने काम गरेको छ केपी ओली सरकारले।