माओवादको सिद्धान्त छोडी प्रचण्ड नेतृत्वको माओवादी एमालेमा विलय भयो :प्रकाण्ड - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

माओवादको सिद्धान्त छोडी प्रचण्ड नेतृत्वको माओवादी एमालेमा विलय भयो :प्रकाण्ड



धनगढी : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड)ले कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका हत्यारालाई सरकारले बचाउन खोजेको आरोप लगाएका छन्।

१२५औँ माओ दिवसको अवसरमा बुधबार धनगढीको खुल्लामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रकाण्डले सरकारले चाहे एक सातामै निर्मलाको हत्यारा पत्ता लगाउँन सक्ने बताएका हुन्। ‘सामाजिक असुरक्षा यतिधेरै बढिरहेको छ की दिनदिनै महिलाहरूको बलात्कार, हत्या भइरहेको छ’ प्रकाण्डले भने, ‘देश त बडो काहाली लाग्दो स्थिति तर्फ जाला जस्तो छ।’ देशमा दिनहुँ हत्या र बलात्कारका घटना बढिरहँदा पनि सरकार उदासिन रहेको उनले आरोप लगाए।

निर्मला हत्या प्रकरणमा सरकारले अनुसन्धान गर्ने गम्भीर नभएको आरोप लगाए। वर्तमान सरकार विदेशी शक्तिको आडमा सञ्चालन भइरहेको प्रकाण्डको आरोप थियो। ‘सामन्तवादको अन्त्य त भयो तर, नेपाली जनातको राज्यसत्ताको स्थापना भएन’ उनले भने , ‘एउटाले सरकारको नेतृत्व गरिरहेको छ। अर्कोले त्यो सरकारलाई ढाल्ने र आफू सरकारमा जाने योजना बनाइरहेको छ।’ उनले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। उनले भने, ‘अहिलेको सरकारविरुद्ध कांग्रेस खनिनु पर्ने थियो, अहिले कांग्रेस पार्टीको आवश्यक्ता पनि थियो तर, कांग्रेस पार्टीका नेताहरू त्यहाँ छैनन्। कांग्रेस पार्टीका नेताहरू एउटाले अर्काको विरुद्ध छाला तान्नतिर छन्।’ कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य ओम प्रकास पुनले शासन बदलिए पनि जनताको जीवनशैली परिवर्तन हुन नसकेको बताए।

माओवादको सिद्धान्त छोडी प्रचण्ड नेतृत्वको माओवादी एमालेमा विलय भएको उनले आरोप लगाए। ‘एमालेले ल्याएको जवजको विचारमा आज प्रचण्ड विलय भएका छन्’ पुनले भने। धनगढीको शहीद गेटबाट सुरु भएको र्‍याली खुल्ला मञ्चमा पुगेर विशाल सभामा परिणत भएको थियो।