माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने: बैठक डाकियो
काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ । आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने स्रोतको दाबी छ ।
सोमबारमात्रै अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।देउवा र दाहालबीचको भेटवार्तामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको बताइएको छ ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यँताएको थियो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएपनि अहिलेसम्म फिर्ता लिएको थिएन । तर, आज बस्ने बैठकमा यो विषयमा महत्वपूर्ण निर्णय हुने स्रोतले जनाएको छ ।
आजै सत्ता समिकरणको निर्णायक जसपाको पनि शीर्ष ६ नेताहरुको बैठक बसेको छ । कांग्रेसले पनि भोलि केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक एकै समयमा हुनुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीको रुपमा हेरिएको छ ।