माओवादी केन्द्रको नाम परिवर्तन हुँदै, यस्तो छ प्रचण्डले गरेको तयारी
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नाम फेर्ने प्रस्ताव ल्याउन लागेको खुलेको छ । लामो समयदेखि माओवाद हटाउने तयारीमा लागेका प्रचण्डले यसै महाधिवेशनमा त्यो प्रस्ताव ल्याउन लागेका हुन् ।
काठमाडौंमा आइतबारबाट सुरू भएको आठौं महाधिवेशनबाट पार्टीको नामबाट ‘माओवाद’ हटाउने उनको तयारी रहेको बुझिएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवास्थामा फर्काएपछि प्रचण्डले विभिन्न चरणमा माओवादी पार्टीको नाम परिवर्तन गर्ने परामर्श थालेका थिए ।
माओवादीकै एक नेताले बताएअनुसार प्रचण्डले नयाँ र सबैले मन पराउने नामका बारेमा आफूनिकट नेताहरूसँग छलफल थालिसकेका छन् । प्रचण्डले अबको गन्तब्य समाजवादतर्फ भएकाले समाजवादी आम बढी सुहाउने नेताहरूलाई सुनाउने गरेका छन् । ‘नाम फेर्ने अध्यक्षको प्रस्तावमाथि पनि छलफल हुँदैछ,’ ति नेताले भने, ‘नयाँ नाम महाधिवेशनले अनुमोदन गर्छ । नाममा माओवादी भन्दा समाजवादी शब्द प्रयोग गर्ने विकल्पमा हामी कुराकानी गरिरहेका छौं ।’
माओवादीमा पार्टीको नामबाट माओवाद हटाउन निकै पहिलेदेखि छलफल चलिरहेको थियो । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा पनि नामबारे छलफल भएको थियो ।
नामबाट माओवादलाई हटाएर ‘समाजवाद’ जोड्न सके अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि एकता हुन सहज हुने प्रचण्डको बुझाई छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तत्काल सहकार्य र चुनावी तालमेल गरेर अघि बढ्ने प्रचण्डको रणनीति ।
उसो त नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले पनि आफ्नो नामबाट माओवाद हटाएको थियो । यतिबेला विप्लवसँग पनि एकताका लागि पहल गर्न प्रचण्डले पार्टीका प्रवक्ता कृष्णबहादुर महरालाई खटाएका छन् ।
प्रचण्डले महाधिवेशन बन्द सत्रमा पेश हुने आफ्नो राजनीतिक दस्तावेजमा नाम फेर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।