माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन नयाँ मापदण्ड - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन नयाँ मापदण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको विषयमा मापदण्ड तय गरेको छ ।

माओवादी केन्द्रको कात्तिक १, २ र ३ गते बसेको बैठकले आगामी पुस १३, १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने वडा तहदेखिका प्रतिनिधिहरूका विषयमा मापदण्ड बनाएको हो ।

बैठकले राष्ट्रिय सम्मेलनका लागि प्रदेशबाट कुल ६ सय प्रतिनिधि संख्या तोकिएको छ भने प्रत्येक प्रदेशलाई कम्तिमा ३० जना प्रतिनिधिको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै बाँकी प्रतिनिधि पार्टी सदस्य संख्याको अनुपातमा प्रदेशले छान्न पाउने माओवादीले निर्णय गरेको छ । माओवादीले टोल भेला कात्तिक २७ गते, वडा भेला मंसिर ४, पालिका सम्मेलन मंसिर ११ र प्रदेश सम्मेलन मंसिर २५ गते र
राष्ट्रिय सम्मेलन पुस १३, १४ र १५ गते गर्ने तयारी गरेको छ ।

राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु सबै आयोजक एवं प्रतिनिधि मानिनेछन् । पार्टी मातहतको आयोग, सल्लाहकार परिषद् र जेष्ठ नागरिक मञ्चका पदाधिकारी एवं सदस्यहरु पनि स्वतः प्रतिनिधि हुनेछन् । यसैगरी सबै विभागका प्रमुख र उपप्रमुखसमेत १० प्रतिशतले सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् । बैठकले केन्द्रीय समितिले कुल प्रतिनिधि संख्याको १० प्रतिशत मनोनित गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै माओवादीले प्रदेश सम्मेलनका लागि पनि प्रतिनिधिको मापदण्ड तय गरेको छ । जसअनुसार प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु आयोजक हुनेछन् । प्रदेशस्तरीय निकायका पदाधिकारी र सदस्यहरु प्रदेश सम्मेलनको प्रतिनिधि हुनेछन् ।

माओवादीले यता पालिकास्तरीय प्रतिनिधिको मापदण्डसमेत टुंगो लगाएको छ । जसअनुसार सम्बन्धित पालिका समितिका पदाधिकारी र सदस्य आयोजक प्रतिनिधि हुनेछन् भने पालिकास्तरका निकायका पदाधिकारी र सदस्यहरु सम्मेलनका प्रतिनिधि हुनेछन् । यस्तै विभागहरूबाट १० प्रतिशत प्रतिनिधि चयन गर्नुपर्नेछ ।