एमसीसीबारे जनमतसंग्रह गर्न माओवादीको माग
काठमाडौँ- सत्तारुढ (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । एमसीसीले नेपालको हितमा नरहेको भन्दै विकासका लागि हो भन्नेहरूले जनमत संग्रहका लागि तयार हुनुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद किराँतीले एमसीसीको विरोधमा सडकमा जनता बोलिरहेको अवस्थामा राम्रै हो भन्ने हो भने जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका हुन् । ‘एमसीसीविरुद्धमा जनता बोलिरहेका छन् । राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं न त,’ उनको सुझाव थियो, ‘या एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।
एमसीसी ‘राष्ट्रघाती नै’ भएको सांसद किराँतीको भनाइ थियो । ‘नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सी’ भन्दै विकासका नाममा राष्ट्रिय हितविरुद्धको सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो ।
किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए । ‘उताबाट एउटा सहसचिवले लेख्छ यताबाट बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले पत्र लेख्छन्, यो शोभनीय भएन,’ उनले भने ।
नेपालमा शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादा पूरा नगरिरहेको किराँतीको भनाइ थियो । उनले बहालवाला प्रधानमन्त्री खुफिया एजेन्सीको प्रमुखसँग घण्टौ वार्ता गर्ने, शीर्ष पदमा पुगेकाहरू विवादित विषयमा नबोलिरहेको बारेमा पनि शंका उत्पन्न भएको उनले बताए ।
संसद्मा राष्ट्रिय महत्वका विषयमा सांसदहरूलाई बोल्न नदिइएको र समय कम दिइएको विषयमा पनि सांसद किराँतीले असन्तुष्टि जनाएका छन् । उनले सबै सांसदको हैसियत बराबर भएपनि बोल्न समय नमिलेको बताए ।