माओबादी जनप्रतिनिधिले चर्च बनाउन सरकारी बजेट छुट्याएको खुलासा ! - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

माओबादी जनप्रतिनिधिले चर्च बनाउन सरकारी बजेट छुट्याएको खुलासा !



धर्म अफिम हो भनेर दिनदिनै भाषण गर्ने माओवादी जनप्रतिनिधिका रुपमा विजयी भएको रोल्पाको माडी गाउँपालिकाले क्रिस्चियन धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ । रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका इसाई धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मन्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो ।

माडी गाउँपालिका वडा नं. ५ मा ‘मन्डली भवन’ निर्माणका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वडा नं. १ मा ‘काफलनेटा मन्डली भवन’ निर्माणका लागि ८० हजार छुट्याइएकोमा विवाद आएपछि रकम सोही प्रयोजनमा खर्च हुनेगरी अहिले योजनाको नाम भने फेरिएको छ । कागजमा ‘काफलनेटा मन्डली भवन’ नाम परिवर्तन गरेर ‘काफलनेटा टोल फिल्ड निर्माण’ भनिएको छ।

‘देश धर्म निरपेक्षतामा गएको छ । शिक्षा, स्वास्थ्यजस्ता महŒवपूर्ण विषयलाई गौण राखेर धर्मका नाममा बजेट विनियोजन हुनु दुर्भाग्य हो’, पत्रकार खेमबहादुर बुढा भन्छन्, ‘अरु केही होइन, हिजो चुनावका समयमा क्रिस्चियनसँग भोट माग्दा गरिएको अघोषित सहमतिअनुसारको सौदाबाजी हो।’

माडी गाउँपालिकाभित्रका धेरै विद्यालयमा भवन छैन, फर्निचर छैनन् तर जनप्रतिनिधिले मन्डली भवनमा बजेट खर्चिरहेका छन् । ‘क्रिस्चियनहरुसँग पैसा नभएर गाउँपालिकासँग मागेका होइनन् । यो त यिनीहरुको योजना हो’ एक जनप्रतिनिधिले भने, ‘आफ्नै बजेटबाट बनेको मन्डलीमा स्थानीयको अपनत्व जाग्छ भन्ने इसाईहरुको अपेक्षा हो । जिल्लामा करिब ५ दर्जन चर्च बनाउन सक्नेले यहाँ बनाउन नसक्ने भन्ने हुँदै होइन।’

बजेट हाल्नुपर्ने शिक्षा, स्वास्थ्यमा हो । ‘साझा क्षेत्रमा छुट्याउनुपर्ने बजेट कुनै एक धर्म विशेषका लागि छुट्टिनु राम्रो होइन’, माडी गाउँपालिका घर भएका कांग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर भन्छन्।

दिनेश सुबेदी/नागरिकन्युजबाट