भर्खरै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रमा कोरोनाको आतंक - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

भर्खरै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रमा कोरोनाको आतंक



काठमाडौं- भर्खरै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रमा कोरोनाले आतंक मचचाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ भने माओवादीकै तीन नेतालाई पनि कोरोना संक्रमण भएको खुलेको छ ।

तीन जना कन्द्रीय सदस्यलाई पनि कोरोना संक्रमण भएको माओवादीका एक नेताले बताए । तर उनले केन्द्रीय सदस्यहरूको नाम बहने खुलाएनन् । एकजना केन्द्रीय सदस्य सीपबहादुर बस्नेतलाई भने संक्रमण भएको पुष्टि भएको छ । उनीसहित लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको हो।

आफूसँग भेटघाटमा रहिरहने ६ जनामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक भेटघाट पनि रोकेका छन्। प्रचण्ड अहिले आइसोलेसनमा बसेका छन् ।

‘लेखा प्रमुखसहित ६ जनालाई कोरोना पुष्टि भएपछि कार्यालयमा अतिजरुरीबाहेक सबै सेवा बन्द गरिएको छ’, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने, ‘क्यान्टिन पनि पूर्णरुपमा बन्द गरिएको छ। सुरक्षा र स्वास्थ्य सावधानी अपनाउन अध्यक्षसँगको प्रत्यक्ष भेटघाट पनि रोकिएको छ।’

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै तीन दिनयता भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं’, सचिवालयले भनेको छ, ‘यसकारण पर्न गएको अप्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं।’

प्रचण्डले अब कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिमार्फत अघि बढाउने भएका छन्।