पदाधिकारी टुंग्याउन महाधिवेशन स्थलमै माओवादीको स्थायी समिति बैठक सुरू
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । ८औं महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो ।
महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथि छलफल पनि बैठकको एजेण्डा समेत छन् ।
गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।
समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिए । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल आज दिनभर चल्नेछ ।समूहगत छलफलबाट सुझाव आएसँगै भोलिबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढाइने कार्ययोजना छ ।