समर्थन फिर्ता लिन बहानाबाजी गर्दै माओवादी केन्द्र
काठमाडौँ- नेकपा माओवादी केन्द्र अनिर्णयको बन्दी बनेको छ । सरकारलाई दिएको समर्थन फिर्ताको लागि नैतिक दवाव परिरहेका बेला पनि बैठक बसेर निर्णय गर्न सकेको छैन ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटि सदस्यहरुको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयका लागि केही समय पर्खिनेबारे छलफल भएको बताइएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा बस्न नैतिकताले नदिने बताउँदै आएको माओवादीले के कुरिरहेको हो भन्ने नै स्पष्ट भएको छैन । आज बसेको बैठकले पनि अझै केहिदिन कुर्ने भन्दै कुनै निर्णय गर्न सकेन ।
माओवादीले सरकारबारे स्पष्ट धारणा बनाउन नसक्दा पार्टीमाथि नै अनेक टिप्पणी हुन थालेका छन् । कतिपयले केपी ओलीसंग बार्गेनिङ गर्नकै लागि समर्थन फिर्ता लिन नसकेको बताउन थालेका छन् ।
बिहीबारको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । यस्तै अरु पार्टीसँग भएको वार्ताबारे पनि छलफल भएको हो ।
तत्काल परिस्थिति स्पष्ट भइ नसकेको र कसरी अगाडि भन्ने निर्णय गर्न दलहरुले केही समय मागेका भन्दै माओवादीले समर्थन फिर्ता लिन बहाना बनाएको छ ।