माओवादी सुदूरपश्चिममा बबण्डर, पार्टी नेतृत्वको चर्को विरोध - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

माओवादी सुदूरपश्चिममा बबण्डर, पार्टी नेतृत्वको चर्को विरोध



कैलाली- नेकपा माओवादी केन्द्रले सुदुरपश्चिममा गरेको कार्यविभाजनको पार्टीका नेता कार्यकर्ताहरुले नेतृत्वको चर्को विरोध गरेका छन् । माओवादी केन्द्रको स्थायी समितिको बैठकको परिपत्र आईतबार सार्वजनिक भएपछि धेरै नेता कार्यकर्ताले उक्त निर्णयको विरोध गरेका हुन ।

माओवादी केन्द्रमा सुदुरपश्चिममा १३ जना केन्द्रीय सदस्य छन् । तिमध्ये माओवादीले अधिकांशलाई प्रदेशको सहइन्चार्ज बनाएको छ ।
सहइन्चार्ज हुनेमा नेपबहादुर चौधरी, तारामान स्वांर, लक्ष्मणदत्त जोशी, विरमान चौधरी, त्रिलोचन भट्ट र विना मगर रहेकी छन् । प्रदेशको सचिवमा भने देविलाल चौधरीलाई जिम्मेवारी दिइएको छ ।

माओवादीमा प्रदेश अध्यक्षको लागी विना मगर, नरेन्द्र कुंवरलगायत दावेदार थिए । तर, दुवैलाई पन्छाउंदै माओवादीले शरदसिंह भण्डारीलाई प्रदेश अध्यक्ष बनाएको छ । माओवादीका केन्द्रीय सदस्य खगराज भट्ट यसअघि नै प्रदेश इन्चार्ज चयन भइसकेका छन् ।

माओवादीमा जिल्ला इन्चार्ज चयनमा समेत विवाद देखिएको छ । काठ तस्करीको आरोपमा मुद्दा खेपिरहेका जगत पार्कीलाई माओवादीले डडेल्धुराको इन्चार्ज बनाएको छ । त्यसैगरी मुख्यमन्त्री त्रिलोचन भट्टका पिए शिवसिंह ओलीलाई डोटीको इन्चार्ज बनाइएको छ । उनि यसअघि जिल्ला सचिव थिए । ओली आर्थिक विवादमा मुछिंदै आएका छन् ।

उनलाई इन्चार्ज बनाएपछि माओवादी डोटीका युवा नेताहरु जंग विक, प्रकाश जोशी, गणेश वम, गोविन्द खड्का, प्रेम कुंवर र भरत बोहरालगायतले उक्त निर्णयको चर्को विरोध गरेका छन् । माओवादीमा डोटी जिल्ला इन्चार्जको दावेदार जंग विक भएपनि ओली नारायणकाजी श्रेष्ठको कोटामा डोटी इन्चार्ज बनेको स्रोतले बतायो । त्यसैगरी अछाम जिल्ला इन्चार्जमा भने झपड सांवदलाई जिम्मेवारी दिइएको छ । उनि यसअघि जिल्ला संयोजक थिए ।

प्रदेशको पदाधिकारी चयनप्रति माओवादीका नेताहरुले विरोध जनाएका छन् । माओवादी केन्द्रको बझांग जिल्लाका संयोजक मीन कुंवर, वैतडीका नेता नरेन्द्र कुवंर, वंझांगका नेता देवराज रेग्मी,कैलालीका नेता दर्शन र डडेल्धुराका नेता मानसिंह माललगायतले उक्त निर्णयको विरोध जनाएका छन् ।