भिआइपी बेड नभएका कारण अस्पतालमा भएन मन्त्रीको उपचार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भिआइपी बेड नभएका कारण अस्पतालमा भएन मन्त्रीको उपचार



धनगढी । बुधबार प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट स्वास्थ्य उपचार गर्न धनगढीस्थित सेती अस्पताल पुगे । तर! अस्पतालमा भाीआइपि बेड नभएको भन्दै उनलाई आफ्नै निवास जान चिकित्सकहरुले अनुरोध गरे ।

अस्पताल स्रोतका अनुसार ‘इमर्जेन्सी केस’ नभएको र अस्पतालमा ‘भिआइपी उपचार गराउँदा सुत्ने बेड’ नभएकाले मुख्यमन्त्रीको निवासमै उपचारको व्यवस्था मिलाइएको हो । ज्वरो आउने, पेट र शरीरका विभिन्न अंगको दुखाइपछि परीक्षण गराउन सेती अस्पताल पुगेका उनलाई अस्पतालको आकस्मिक कक्षमा मुख्यमन्त्रीको रगत र पिसाब परीक्षण गरियो । मुख्यमन्त्री भट्टलाई निवासमा लगियो। केहीबेरमा अस्पतालका आकस्मिक कक्ष प्रमुख कृष्णबहादुर बोहरा मुख्यमन्त्रीको निवास पुगे। नियमित परीक्षण गर्न बिहीबार बिहान मुख्यमन्त्री भट्ट फेरि अस्पताल पुगे । उनको भिडियो एक्सरे गरिएको छ ।

प्रदेश ७ को ठूलो सेती अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ डाक्टरको अभाव छ । कर्मचारी र भौतिक पूर्वाधारको पनि अभाव छ । १२५ शैया क्षमताको अस्पतालमा दैनिक दुई सय हाराहारीमा बिरामी आउने गर्छन् । सेती अस्पतालका निमित्त प्रमुख डाक्टर कपिल गौतमले वीर अस्पतालमा जस्तो छुट्टै भिआइपी कक्ष नभए पनि मन्त्री तथा सांसदको उपचार गरिरहेको बताए।