मन्त्रिपरिषद् विस्तार हुँदै: माधव नेपालको पार्टीले सबैभन्दा धेरै मन्त्री पाउने - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

मन्त्रिपरिषद् विस्तार हुँदै: माधव नेपालको पार्टीले सबैभन्दा धेरै मन्त्री पाउने



काठमाडौं- माधव नेपाल नेतृत्वको नयाँ दलको टुंगो लाग्नेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । दल दर्ता छिट्टै हुने देखिएपछि माधव नेतृत्वको नेकपा समाजवादी पार्टीले सरकारमा सहभागी हुने तयारी समेत गरिसकेको छ ।

स्रोतका अनुसार नेपाल नेतृत्वको पार्टीलाई कति मन्त्रालय दिने भन्ने लगभग पक्का भैसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुझावका आधारमा नेपाल नेतृत्वको नयाँ पार्टीले सबैभन्दा धेरै मन्त्रालय पाउने भएको हो ।

कुन मन्त्रालय दिने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । यसबारे गठबन्धनमा छलफल भइरहेको छ । स्रोतका अनुसार माधवको नयाँ पार्टीले ६ मन्त्रालय पाउने पक्का भइसकेको छ ।

निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएलगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्नेछन् । देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राज्यमन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा रहेको छ ।

नेता नेपालले वेदुराम भुसाललाई आफ्नो दलको तर्फबाट नेतृत्व गर्दै सरकारमा पठाउनेबारे छलफल गरेका छन् । भुसाल राष्ट्रिय सभा सदस्य हुन् । भुसालसँगै अर्का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको नाम पनि चर्चामा रहेको छ । नेता नेपालले आफ्नो समुहमा आएको खण्डमा वामदेव गौतमपत्नी तुलसा थापालाई समेत मन्त्री बनाउने बताएका छन् ।