मन्त्रिपरिषद् बैठकमा ओलीले भनेः अपर्झट हुन सक्छ, तयारी अवस्थामा बस्नुस् ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मन्त्रिपरिषद् बैठकमा ओलीले भनेः अपर्झट हुन सक्छ, तयारी अवस्थामा बस्नुस् !



मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सहसचिव डिल्लीराज घिमिरेलाई बढुवा गरी प्रधानमन्त्री कार्यालयको सचिव बनाएको छ ।

 

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बाँस्कोटाका अनुसार सरकारले व्यापारी, उद्यमीलगायतलाई सीमान्तकृत समुदायका १ जना बालबालिकाको शिक्षादीक्षाको जिम्मेवारी लिन पनि आग्रह गर्ने निर्णय पनि गरेको छ ।

त्यसको सुरुवात वैशाख १ गतेदेखि नै विद्यार्थी भर्ना गरेर गर्न सकिनेछ ।

बैठकमा चासोको साथ हेरिएको नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा के निर्णय भए–नभएको बारे राज्यमन्त्री बाँस्कोटाले केही खुलाएनन् ।

‘आइजिपीको निर्णय बेला भएपछि आइहाल्छ,’ उनले भने ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले उमेर हदका कारण बिहीबारदेखि अवकाश पाउँदैछन् । उनको कार्यकालको एक दिनअघिसम्म पनि नयाँ आइजिपी को हुने भन्ने टुंगो छैन ।

आइजिपीका लागि अहिलेका १२ जना डिआइजी प्रतिष्पर्धी छन् । गृह मन्त्रालयले सोमबार साँझ ती १२ जना डिआइजीको अभिलेख प्रहरी प्रधान कार्यालयबाट मगाएको थियो ।

१२ मध्ये १ नम्बरमा ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनाल, २ नम्बर सुरक्षा सेवा निर्देशनालयका प्रमुख रमेश खरेल, तीन नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख पुष्कर कार्की रहेका छन् भने लागु औषध नियन्त्रण ब्यूरो प्रमुख धीरू बस्नेत चौथो नम्बरमा छन् ।

प्रहरी नियमावलीमा यी १२ जना डिआइजीमध्ये सरकारले जसलाई योग्य ठान्छ उसैलाई आइजिपी नियुक्त गर्न सक्ने प्रावधान छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने केही महत्वपूर्ण एजेण्डा रहेको भन्दै अपर्झट बैठक बस्न सक्ने भएकाले तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।