मन्त्री नेम्वाङले यातायात व्यवसायीलाई के भने ? - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

मन्त्री नेम्वाङले यातायात व्यवसायीलाई के भने ?



काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्।

आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्बाङले विशेष परिस्थितिका कारण बन्द हुन पुगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारिक नभएकोले सञ्चालन गर्न आग्रह गरे। उनले आन्दोलनमा जस्तै माग राख्दै पुरा गर्न दवाव दिने र सम्झौता गरेर अगाडि जाने विषय नभएको स्पस्ट पारे।

सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दिन भन्न नहुने नेम्बाङले बताए। उनले व्यवसायीका सबै चाहनाहरु सरकारले पुरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गरे।

यातायात व्यवसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफूहरुसँग कुनै छलफल नगरी निर्णय गरेको प्रति असन्तुष्टि जनाए। व्यवसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकलाई सुरक्षित नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्री सहित व्यवसायीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए। चालक र सहचालकले बिना सुरक्षा सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग बिना यातायात सञ्चालन गर्न नसकिने कर्माचार्यले बताए।

व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका थिए।