मन्त्रीहरू 'नालायक' भए, तत्काल सरकार पुनर्गठन गरौँ ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मन्त्रीहरू ‘नालायक’ भए, तत्काल सरकार पुनर्गठन गरौँ !



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले वर्तमान मन्त्रिपरिषद् असफल भएकोले तत्काल सरकार पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीे बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता पन्तले मन्त्रिपरिषदले जनताको चाहना अनुरुप काम गर्न नसकेकाले पुनर्गठन गर्नुपर्ने बताएका हुन् ।

स्थायी कमिटीको बैठकपछि लोकान्तरसँग कुरा गर्दै पन्तले सरकार लोकप्रिय र गतिशील नभएको आरोप लगाए । उनले सरकारकार केही मन्त्रीले नालायकी पन देखाएको आरोप लगाए । ‘सरकारले निरन्तर विवादित काम मात्र गरिरहेको छ, जनतासमक्ष गरेका वाचाहरू पूरा गर्न सरकार पूर्णतः असफल रहेको छ’ पन्तले भने,‘यस्तो अवस्थामा हामीले टुलुटुलु हेरेर बस्न मिल्दैन । मन्त्रीहरूको कामको समीक्षा गरेर कसलाई फिर्ता बोलाउने हो भन्ने निर्णय तुरुन्त गर्नुपर्ने आवश्यकता छ’ ।

पार्टीको राजनीतिक र सांगठनिक निर्णय स्थायी कमिटी र केन्द्रीय कमिटीेले नै गर्नुपर्ने नेता पन्तको जिकिर छ । तर सचिवालयले अनावश्यक हस्तक्षेप गर्दै निर्णय गर्ने गरेको उनको आरोप छ ।

आफूखुसी निर्णय गरेर सचिवालय निरङ्कुश बन्दै गइरहेको पन्तले बताए । ‘सचिवालयले आफ्नो क्षेत्राधिकार बिर्सेर मनलाग्दी निर्णय गर्ने चलन हट्नुपर्छ’, पन्त भन्छन्, ‘सचिवालयका सदस्यहरूले नेकपालाई राणा शैलीमा चलाउने दुष्प्रयास गरेका छन्, राणाहरूले जस्तो नेता कार्यकर्ताहरूलाई ‘ए क्लास’, ‘बि क्लास’ र ‘सी क्लास’मा बाड्ने र आफ्ना आसेपासे, नजिकका भाइभारदारलाई मात्र पदमा लैजाने गरेको देखिएको छ, यो तुरुन्त अन्त्य हुनुपर्छ ।’

मंसिर २९ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ । अधिकांश सदस्यहरूले पार्टी नेतृत्व र सरकारको आलोचना गरेका छन् ।