वामदेव र नारायणकाजीलाई मन्त्री बनाउन कसरत - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

वामदेव र नारायणकाजीलाई मन्त्री बनाउन कसरत



काठमाडौं- उपाध्यक्ष वामदेव गौतमलाई संसद् प्रवेश गराउने योजना सफल भएपछि नेकपाका शीर्ष नेताहरू उनलाई मन्त्री बनाउने कसरतमा लागेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनसहितका एजेन्डामा छलफल गर्न शुक्रबार नेकपा सचिवालय बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत भएका गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ । तर, यसले नेकपामा नयाँ विवादको सुरुवातको सम्भावना बढाएको खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरूले नै गौतमलाई मन्त्री बनाउने एजेन्डा प्रवेश गराउने तयारी गरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बनाएर सरकारको काम प्रभावकारी बनाउनुपर्ने पक्षमा छन् । श्रेष्ठ यसअघि नै राष्ट्रिय सभा सदस्य भइसकेका छन् । ०७४ को संघीय चुनावमा गौतम बर्दिया र श्रेष्ठ गोरखाबाट पराजित भएका थिए ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा पहिलोपटक बस्न लागेको सचिवालय बैठकमा गौतमसहितका नेतालाई सरकारको जिम्मेवारीमा पठाउने विषयले प्रवेश पाउन सक्ने वरिष्ठ नेता खनालले संकेत गरे । ‘पहिलो– वामदेव कमरेडलाई मेरो बधाई छ । अब शुक्रबारको बैठक हेरौँ । पार्टीले अब दिने जिम्मेवारी उहाँले सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ ।’

नेकपा स्थायी कमिटी बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरिसकेको छ । तर, कहिलेसम्म र कसरी गर्ने भन्ने ठोस निर्णय सचिवालय बैठकले गर्दै छ । विवाद देखिए मन्त्रिपरिषद् पुनर्गठन केही समय पछाडि धकेलिन सक्ने नेताहरू बताउँछन् ।

गौतमले निकटस्थलाई आफू सरकारको जिम्मेवारी लिने उद्देश्यले नै राष्ट्रिय सभा सांसद बन्न लागेको बताउँदै आएका छन् । तर, अर्थ मन्त्रालयको जिम्मेवारीबाहेक अन्य मन्त्रालयको जिम्मेवारीमा भने सरकारमा नजाने उनले आफ्नो धारणा सुनाएका छन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीले मन्त्रीसरहको सुविधा पाउने गरी मुख्य आर्थिक सल्लाहकार नियुक्त गरेपछि गौतममाथि दबाब बढेको छ ।

गौतम र श्रेष्ठलाई महत्वपूर्ण मन्त्रालयसहित सरकारमा पठाउने पक्षमा रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपाल शुक्रबारको बैठकमा सरकार पुनर्गठनबारे पहिले प्रधानमन्त्रीको धारणा बुझ्ने र त्यसपछि मात्र आफ्ना मतसहितका सुझाब राख्ने तयारीमा छन् ।