मन्त्रालयले सोध्यो वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई स्पष्टीकरण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्त्रालयले सोध्यो वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई स्पष्टीकरण



मन्त्रालयको प्रश्न

१. उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?
२. निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ?
३. पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो ?
४. तपाईं कार्यकारी प्रमुख भएपछि नेपाल वायुसेवा निगममा के प्रगति भयो ?

उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख भएर आएपछि निगममा के गर्नुभयो ? निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ? पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो र उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?’

आन्तरिक उडानका जहाज पार्किङमै थन्किनु, निगमको आर्थिक अवस्था धराशयी हुँदा पनि व्यवस्थापनले कुनै चासो नदेखाउनु गम्भीर विषय भएकाले मन्त्रालयले खरेलसँग जवाफ मागेको मन्त्रालय स्रोतले जनायो ।

खरेलले भने आफू अध्यक्ष भएर आउनुअघिदेखि नै आन्तरिक उडानका जहाज थन्किएको दाबी नयाँ पत्रिकासँगको अन्तर्वार्तामा गरेका छन् । तर, मन्त्रालयका एक अधिकारी खरेलको जवाफ गैरजिम्मेवार रहेको बताउँछन् । ‘कार्यकारी अधिकारसहित नियुक्त भएर आएपछि निगमको अवस्था सुधारमा लाग्नुपर्नेमा पहिल्यैदेखि उस्तै थियो भन्नु गैरजिम्मेवार छ । यसलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ,’ ती अधिकारीले भने ।

अब के हुन्छ ?

अध्यक्ष खरेलको जवाफ आएपछि आगामी दिनमा उनीमाथि चालिने कदमबारे निर्णय हुने मन्त्रालय स्रोतको भनाइ छ । चित्तबुझ्दो जवाफ नआएमा फेरि अर्काे स्पष्टीकरणको चरणमा जान सकिने स्रोतले जनायो । खरेलबारे अन्तिम निर्णय भने पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी ओलीबाटै हुनेछ । दोस्रो कार्यकालका रूपमा प्रवेश गरेका खरेलले निगमलाई प्रभावकारी बनाउने विश्वास सरकारको थियो । तर, निगमको अवस्था झन् खराब बन्दै गएको छ ।

आन्तरिक उडानमा रहेका अधिकांश जहाज थन्किएका छन् । अन्तर्राष्ट्रिय उडानका एयरबस ३२० र ३३० जहाज क्षमताभन्दा कम घन्टा मात्र उडानमा छन् । जापानको ओसाका उडान अन्तिम चरणमा पुगेर स्थगित गरिएको छ । कोरिया उडान पनि सुरु हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय उडानबारे पनि सोधिने

आन्तरिक उडानको अवस्थाबारे सोधिएको स्पष्टीकरणको जवाफ आएपछि अर्को स्पष्टीकरण सोध्ने मन्त्रालयको तयारी छ । स्रोतका अनुसार दोस्रो चरणमा पाइलट व्यवस्थापन नभएको, नयाँ रुटमा उडान थाल्न नसकेको र एयरबसका न्यारोबडी र वाइडबडी जहाजको उडान प्रभावकारी हुन नसकेको सन्दर्भमा स्पष्टीकरण सोध्ने तयारी छ । ‘यी जहाज उडाउन नयाँ रुट खोल्न गम्भीर प्रयास गर्नु त परको कुरा, हुनै लागेको जापानको ओसाका उडान पनि अन्तिम चरणमा आएर स्थगित भयो,’ मन्त्रालयका अधिकारीले भने, ‘त्यसैले उनीसँग थप स्पष्टीकरण हुन्छ ।’