मनसुन अझै १० दिनसम्म रहने
काठमाडौँ – मौसमविदका अनुसार यो वर्षको देशभर औसतभन्दा बढी वर्षा भइसकेको छ । मौसमविदको दाबी अनुसार नेपालमा मनसुन अझै १० दिन अझै रहने छ ।
नेपालमा सामान्यतया जुन १० मा पूर्वबाट भित्रने मनसुन सेप्टेम्बर २३ मा पश्चिमबाट बाहिरिन्छ । तर यो वर्षको मनसुन अझै सक्रिय रहेको छ । मनसुन कम्तीमा अझै १० दिन जारी रहने मौसमविदल वरुण पौडेलले बताएका छन् ।
मनसुन अवधिमा नेपालमा औसत करिब १५ सय मिलिमिटिर पानी पर्छ । यो वर्ष दुई दिन ढिला गरी अर्थात जुन १२ मा पूर्वबाट प्रवेश गरेको मनसुन लगातार सक्रिय रहेकाले औसतभन्दा धेरै वर्षा भएको हो ।
औसतको आँकडा भन्दा १० प्रतिशतसम्म बढी वर्षा भएमा औसतमै मानिन्छ । १० वा त्यो भन्दा बढी प्रतिशत वर्षा भएमा औसतभन्दा बढी वर्षा हो । यो वर्ष भने देशभरका पूर्ण क्षमताका १६ वटा स्टेशनको मापनमा औसतभन्दा बढी वर्षा भइसकेको देखिएको छ ।
मौसमविदका अनुसार, अहिले पनि मौसमी गतिविधि सक्रिय रहेको छ । अझै पानी पर्ने देखिएकाले यो वर्षको मनसुनमा औसत भन्दा अझै धेरै पानी पर्ने देखिन्छ ।
पछिल्लो चार–पाँच वर्षमा अक्टोबर लागेपछि मात्रै मनसुन बाहिरिएको छ। यो वर्ष पनि अक्टोबर लागेपछि मात्रै मनसुन नेपालबाट बाहिरिने देखिन्छ ।
गएको वर्ष अक्टोबर १२ मा मनसुन नेपालबाट बाहिरिएको थियो । तर यो वर्षजस्तो पानी भने परेको थिएन ।
मनसुन भित्रिन पनि ढिला हुने र ढिलै गरी बाहिरिने गरेकाले विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनको प्रभावका कारण मनसुनी चक्र नै प्रभावित वा सरेको हुन सक्ने मौसमविदको भनाइ छ। तर यसमा अनुसन्धानको खाँचो रहेको मौसमविदले बताए ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा १२५ एमएम, सिमरा १०८ एमएम, पोखरामा ८४ एमएम, जनकपुरमा ७२ एमएम र काठमाडौँमा ७३ एमएम, घोराहीमा ५७ एमएम तथा वीरेन्द्रनगरमा ४४ एमएम वर्षा भएको छ ।