मन्त्री बिना मगरविरुद्ध अख्तियारमा उजुरी - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

मन्त्री बिना मगरविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराई सो बारे प्रवक्ता प्रदिपकुमार कोइरालालाई जानकारी दिएको हो ।

उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ ।

खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशीलको ठहर छ ।

खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयको जिम्मा बिना मगरले लिएकी छन् । मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् । यसै विषयमा संसदको अर्थ समिति र संसदमा पनि उनीमाथि प्रश्न उठाइएको थियो ।

मेलम्चीका विषयमा विभिन्न मिडियामा भ्रष्टाचार, कमिशनका तथ्य सार्वजनिक हुँदा पनि छानबिन भएको छैन । प्रधानमन्त्री कार्यालयले पनि उक्त आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्का रद्द गर्नुको कारणबारे मन्त्रालयसँग खासै चासोसाथ सोधेको छैन ।