३० म्यानपावरमाथि कारबाही, बढी रकम लिने ५ को काम रोक्का - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

३० म्यानपावरमाथि कारबाही, बढी रकम लिने ५ को काम रोक्का



काठमाडौं,२२ भदौं । 

वैदेशिक रोजगार विभागले हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही गरेको छ । विभागले बढी लागत खर्च लिने ५ वटा म्यानपावरको कामकारबाहीमा रोक लगाएको छ ।

विभागका महानिर्देशक विश्वराज पाण्डेका अनुसार शून्य लागतको अवस्था पत्ता लगाउन विभागले मागेको हिसाबकिताब नबुझाएका म्यानपावरलाई कारबाही गरिएको हो । ‘स्पष्टीकरण नबुझाउनेलाई एक लाख र स्पष्टीकरण बुझाउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरी सचेत गराइएको छ,’ महानिर्देशक पाण्डेले भने ।

विभागले गत चैतमा म्यानपावरको सम्पूर्ण हिसाबकिताब बुझाउन निर्देशन दिएको थियो । जसमा ७ सय ४५ वटा म्यानपावरले हिसाब बुझाएका थिए । हिसाब बुझाएका ६६ म्यानपावरलाई चुस्त नरहेको भन्दै सचेत गराइएको छ । ‘सबै म्यानपावरले बुझाएको हिसाब छानबिन भइरहेको छ । जसमा ६६ वटालाई पहिलो पटक सचेत गराएका छौं,’ प्रवक्ता मोहन अधिकारीले भने ।

विभागका अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएकामा सिद्धार्थ गौतम ओभरसिज, युनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस, क्यापिटल रिक्रुटमेन्ट सर्भिस, मुनलाइट इन्टरनेसनल, सन रे ग्लोबल ओभरसिज, स्के इन्टरप्राइजेज, इनोभेटिभ सर्भिसेज, फरदोष इन्टरनेसनल सर्भिस कम्पनी, एसआरएस ओभरसिज सर्भिसेज, रेडरोज इन्टरनेसनल म्यानपावर, हामिदा इन्टरनेसनल, सार्प ह्युमन रिसोर्सेज, नेपाल रिक्रुटिङ सर्भिसेज, कौशिक जनशक्ति इन्टरनेसनल, मुस्ताङ ओभरसिज र सिनमल गोर्खा इन्टरनेसनल मेनेजमेन्ट सर्भिस प्रालि छन् ।  खबर आजको कान्तिपुर दैनिकमा  छ ।