मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र



विशाल पाण्डेय / सुखड ,कैलाली ।

घोडाघोडी नगरपालिकाले मनोमानी तरिकाले विद्यालय समायोजन तथा तह घटनाउँने निर्णय गरेको भन्दै नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।

घोडाघोडी नगरपालिकामा रहेका विद्यालयहरूको समायोजन तथा तह घटनाउँने नगरपालिकाको निर्णयको विरोध गदै नेपाली काँग्रेस क्षेत्र नं ३ ले ७ वुदे ज्ञापन पत्र सहित ध्यानाकर्षण गरेको हो ।

ज्ञापन पत्रमा, ‘ घोडाघोडी नगरपालिकाले विभिन्न मितिमा विद्यालयहरूको समायोजन तथा तह घटनाउँने प्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण रहेको उल्लेख गरिएको छ । आधुनिक सभ्य समाजमा शिक्षाको उन्नति र विकास गर्नुको सट्टा प्रजातान्त्रिक शासन कालको सबैभन्दा कालो धब्बा लाग्ने गरी विद्यालय समायोजन गरिएको समेत उल्लेख छ ।

साथै जनचाहना र जनभावना लाई बेवास्ता गरी मनोमानी तरिकाले गरिएको समायोजन र तह घटाउने निर्णय फेरबदल नभए कडा भन्दा कडा आन्दोलन गर्ने र त्यस बेला निस्केको परिमाणको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने समेत ज्ञापन पत्रमा उल्लेख गर्दै नेपाली काँग्रेस क्षेत्र नं ३ कैलालीका सभापति खेमराज चौधरीद्धारा हस्ताक्षर ज्ञापन पत्र नगर प्रमुख चौधरी लाई बुझाइएको थियो ।

ज्ञापन पत्र बुझ्दै घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले ‘ विद्यालय मिलान र तह घटाउनु भनेको शिक्षामा गुणस्तर ल्याउनु भएको बताएका छन् । चौधरीले सामुदायिक विद्यालय मात्रै नभई निजी विद्यालय लाई पनि नियमन गरिने बताएका छन् ।

केही दिन अघि पनि घोडाघोडी नगरपालिकाका नगर प्रमुखले सार्वजनिक महत्त्वका विषयमा एकलौटी ढङ्गले निर्णय गरिरहेको भन्दै नेविसंघ घोडाघोडी नगर समितिले समेत विज्ञप्ति जारिगरि आपत्ति जनाएको थियो ।

ज्ञापनपत्रमा उल्लेख गरिएका बुदाहरु :

१. विद्यालय समायोजन गर्दा नगरको विधान विपरीत गरिएको ।

२. विभेदपुर्ण तथा अन्यायपूर्ण तरिकाले समायोजन गरिएको ।

३. सम्बन्धित अभिभावक तथा सरोकारवालालाई बेवास्ता गरी विद्यालय समाप्त गरिएको ।

४.प्रभावपूर्ण तरिकाले नारको विधान अनुसार समायोजन मा पर्ने विद्यालय लाई पनि समायोजन नगरिएको ।

५ दर्जनौँ दर्जन शिक्षकहरूको रोजि रोटी समाप्त गरिएको ।

६. भौगोलिक दुरीको ख्याल नगरी स–साना बालबालिकाहरूलाई शिक्षाको उज्यालोबाट बन्चित गर्न खोजिएको ।

७. जनसङ्ख्याको बढ्दो क्रमलाई बेवास्ता गरी मनोमानी तरिकाले विद्यालय समाप्त गरिएको ।