मणि थापाले खोले प्रचण्डको पोल - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

मणि थापाले खोले प्रचण्डको पोल



काभ्रे- नेकपाका नेता एवं खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले पुष्पकमल दाहाल प्रचण्डको पोल खोलेका छन् शनिबार ओली पक्षीय नेकपा काभ्रेको जिल्लास्तरीय अगुवा कार्यकर्ता तथा विस्तारित जिल्ला कमिटीको भेलामा थापाले प्रचण्डलाई दर्जनौँ आरोप लगाउँदै पोल खोलेका छन् ।

भेलामा अधिकांश समयमा प्रचण्डको विरोध गर्दै उनले प्रचण्ड ढुलमुले, दुईजिब्रे, फुटलान्ते र परिवारवादी नेता भएको बताएका छन्।

थापाले प्रधानमन्त्री केपी ओली हरेक हिसाबबाट राष्ट्रवादी ‘राजनेता’ भएको दाबी गरे। ओलीको कदमले देश अग्रगामीउन्मुख भएको मन्त्री थापाले बताए।

त्यस्तै, मन्त्री थापाले प्रचण्डले पार्टी निर्माण गर्नुको सट्टा भत्काउने, फुटाउने खेलमा लागेकै कारण नेकपा फुटेको अरोपसमेत लगाए।

‘प्रचण्डले माओवादी हुँदा पनि पार्टीलाई बनाउनु भएन, रोल्पा र रुकुम अनि परिवार बनाउनु भयो,’ उनले भने, ‘जनयुद्धमा साथ दिने अधिकांश नेताले प्रचण्डकै परिवारिक मोह, सत्तालिप्सा, अवसरवादी, अस्थिरतावादीका कारण बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव जस्ता नेताहरुले छोडेर गए।’

रामबहादुर थापा ‘बादल’ लाई लिन पियाओवादी भनेर आरोप लगाए पनि तर वास्तविक लिन पियाओ प्रचण्ड भएका उनले आरो लगाए। उनले भने, ‘माओवादी हुँदा होस् या पार्टी एकतापछि नै किन नहोस्, टाकनटुकन गरेर माओवादी पार्टी सिध्याएका प्रचण्डले नेकपाभित्र पनि माधव नेपाललाई साथमा लिएर टाकनटुकन विधि प्रयोग गरेको कारण पार्टी फुट्न पुग्यो।’

मन्त्री थापाले रोल्पा र दिल्लीबाट काठमाडौँ आउन हतार गरेका प्रचण्डले नेकपामा पनि ओलीलाई सिध्याउन हतार गर्दा आफैं सिद्धिएको बताए। प्रधानमन्त्रीले ओलीले महाधिवेशनपछि सबै छोड्छुभन्दा भन्दै पनि प्रचण्डको हतारोका कारण पार्टी फुटेको तर आफूहरु प्रचण्डसँग सती जान नसक्ने बताए।

उनले भने, ‘हामी देशमा स्थिरता चाहन्छौं, त्यसका लागि देशको विकास र समृद्धिसँगै साम्यवादी आन्दोलनको नेतृत्व प्रधानमन्त्री ओलीबाहेक कसैले गर्न नसक्ने देखिएपछि ओली पक्षको पार्टीमा सहभागी भएको हौँ।’ उनले थपे, ‘प्रधानमन्त्री ओली रात परेपछि खाली कापी र कलम लिएर चिन्तन गर्नुहुन्छ, तर प्रचण्ड… हल्लिनुहुन्छ।’

कार्यक्रममा मन्त्री थापाले जनतालाई सार्वभौम बनाउन गरिएको संसद विघटन प्रतिगमन नभएको बताए। प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय १० मिनेट मात्रै ढिला गरेको भए उहाँ (प्रधानमन्त्री) माथि नै कु गरेर प्रतिगमन र अस्थिरता निम्त्याउन प्रचण्ड–माधव समूहको योजना रहेकाले मुलुकका लागि संसद विघटन गरी अस्थिरता रोक्नु पर्ने बाध्यतत्मक परिस्थिति आएको बताए।