मंसिर ३ मा त्रिभुवन विमानस्थल हुँदै आएका थिए ओमिक्रोन संक्रमित - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

मंसिर ३ मा त्रिभुवन विमानस्थल हुँदै आएका थिए ओमिक्रोन संक्रमित



काठमाडौं। सरकारले नेपालमा दुईजनामा ओमिक्रोन भेरिएन्ट देखिएको पुष्टी गरेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार विदेशबाट आएका एक ६६ वर्षीय नागरिक र उनीसँग नजिकको सम्पर्कमा रहेका नेपालका ७१ वर्षीय नागरिकमा ओमिक्रोनको संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ती विदेशी नागरिक त्रिभुवन विमानस्थल हुँदै मंसिर ३ गते नेपाल आएका थिए। खोपको दुबै डोज लगाएका यी व्यक्तिको पिसिरआर रिपोर्ट पनि नेगेटिभ थियो।

यसपछि ७ मंसिरमा यी व्यक्ति आफैंले कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गराएका थिए। यतिबेला उनीसँग नजिकको सम्पर्कमा रहेका ७१ वर्षे नेपालीको पनि पिसिआर परीक्षण गरियो र उनीहरु दुबै पोजेटिभ पाइए ।

” COVID-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको S-gene परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन (S-gene Target failure) । S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ( NPHL) मा gene sequencing गर्दा मिति २०७८ मङ्सिर १९ गते राति COVID-१९ को नयाँ भेरिएन्ट Omicron नेपालमा पहिलो पटक पुष्टि भएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अहिले यी दुबै संक्रमित नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा बसेको मन्त्रालयले जनाएको छ। उनीहरुको स्वास्थ अवस्था राम्रो रहेको र अहिले कुनै कुनै लक्षणहरु नदेखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी उनीहरुसँग सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको पनि मन्त्रालयले जनाएको छ।

ओमिक्रोनको संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्न पनि सरकारले आव्हान गरेको छ। मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्‍ने र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता सरकारले आग्रह गरेको छ।