दलितलाई मन्दिर प्रवेश गर्न नदिए कारबाही गरिने - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

दलितलाई मन्दिर प्रवेश गर्न नदिए कारबाही गरिने



अछाम : पञ्चदेवल विनायक नगरपालिका ६ तोलिमा रहेको जाल्पादेवी मन्दिरमा पहिलो पटक दलित समुदायले प्रवेश पाउने भएका छन्। परापूर्व कालदेखि उक्त मन्दिरमा प्रवेश नपाएका दलित समुदायलाई मन्दिरमा गएर दर्शन गर्न त्यहाँको वडा कार्यालयले आग्रह गरेको छ।

वडा कार्यपालिकाको बैठकले दलित समुदायलाई मन्दिरमा प्रवेश खुल्ला गर्ने निर्णय गरेको वडा अध्यक्ष पूर्णबहादुर रावलले बताए। उनले भने, ‘दलितले मन्दिरमा जानु हुँदैन भन्ने परम्परालाई तोड्दै हामीले निर्णय गरेका हौँ। कसैले मन्दिरमा किन गएको भनेर दलितहरूलाई भन्यो भने कानून अनुसार कारबाही गछौँ।‘ उक्त मन्दिरमा हरेक वर्ष दशैँमा लाग्ने मेलामा दलित समुदायले जान नहुने धार्मिक मान्यता रहँदै आएको थियो।

जिल्लाको रामारोशन गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाको सीमा क्षेत्रमा रहेको उक्त मन्दिरमा हजारौँ भक्तजनको सहभागिता रहने गर्दछ। मन्दिरमा पञ्चमीको दिन धार्मिक मेला लाग्ने गर्दछ। मेलामा पूजापाठ गर्न अछाम लगायत आसपासका जिल्लाहरूबाट हजारौँ भक्तजन जाने गर्दछन्। वडा कार्यालयले गरेको निर्णयको दलित अधिकारकर्मीहरूले स्वागत गरेका छन्।

वडा कार्यालयको निर्णयले दलित समुदायमा खुसी छाएको छ। दलित अगुवा भीम नेपाली भन्छन्, ‘मन्दिरमा दलित जानु हुँदैन भन्ने कतै पनि छैन तर पनि समाजिक रूपमा बनाइएका बन्धनका कारण दलित समुदाय मन्दिरमा पूजापाठ गर्ने अवसरबाट वन्चित रहँदै आएका थिए। वडा कार्यालयको यो निर्णय स्वागत योग्य छ।’ पञ्चदेवल विनायक नगरपालिका ४ मा केही वर्ष पहिले मन्दिरमा दलित प्रवेश गरेको भन्दै गैरदलित समुदायले हातपात गरेको थियो।