म्यानचेस्टरको बिजोग ! पोग्बाले भने– एटिच्युड भएन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

म्यानचेस्टरको बिजोग ! पोग्बाले भने– एटिच्युड भएन



जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनको दोस्रो खेलमै खराब नतिजा निकालेको छ ।

लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा स्टार खेलाडी रहेको म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर मानिएको टिम ब्राइटनसँग ३–२ ले पराजित भएको हो ।

पउल पोग्बाको कप्तानीमा रहेको युनाइटेडले पहिलो हाफमा तीन गोल खायो भने एक गोल मात्रै फर्काउन सक्यो । ब्राइटनका लागि २५ औँ मिनेटमा ग्लेन मुरेले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि शन डुफीले गोल गर्दै अग्रता दोब्बर पारे । ३४ औँ मिनेटमा रामेलु लुकाकुले युनाइटेडका लागि एक गोल फर्काए । ४४ औँ मिनेटमा ब्राइटनले पेनाल्टी पायो । त्यसको सदुपयोग गर्दै पास्कल ग्रोसले गोल गरे र टिमलाई ३–१ को अग्रता दिलाए ।

युनाइटेडले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको थियो । तर गोल भने गर्न निकै कठिन भयो । इन्जुरी समयको पाँचौँ मिनेटमा कप्तान पोग्बाले गोल गरे तर त्यो हार जोगाउनका लागि पर्याप्त भएन ।

टिमको एटिच्युड जितका लागि चाहिने जस्तो नरहेका कारण समस्या भएको कप्तान पोग्बाले खेलपछि भनेका छन् । ब्राइटन पूर्ण एग्रेसिभ रहेको तर आफूहरुमा त्यसलाई चिर्न सक्ने एडिच्युड नदेखिएको पोग्बाले स्काई स्पोर्टससँग भनेका हुन् ।

पोग्बाले भने, ‘सबैभन्दा पहिले मेरै कुरा गरौँ, मेरो एटिच्युड नै आवश्यक जति राम्रो हुन सकेन । हामीले प्रयास गरिरह्यौँ । यो खेलले हामीलाई सिकाएको छ ।’

प्रशिक्षक मोरिन्होले व्यक्तिगत रुपमा कसैलाई आरोप नलाउने तर टिमले गम्भीर गल्ती गरेको बताए । टिमबाट भएको गल्तीका कारण हार बेहोर्नु परेको उनले बताएका छन् । सिजनको पहिलो खेलमा जित निकालेको युनाइटेड दोस्रो खेलमा पराजित भयो ।