मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के. आई. नेपाल मनोनीत
काठमाडौं: मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के. आई. नेपाल मनोनीत भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा २३ तथा नियमावली, २०६५ को नियम बमोजिम गठन हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा विगत १० वर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था के.आई. नेपाललाई मनोनीत गरिएको हो ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था वा व्यक्तिमध्येबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मनोनीत गर्ने ३ जना सदस्यहरूका निम्ति २०७४/१२/१६ को मन्त्रीस्तरीय निर्णय अनुसार के.आई नेपाललाई राष्ट्रिय समितिको सदस्यमा मनोनयन गरिएको हो ।
राष्ट्रिय समितिको सदस्यमा मनोनयन भएसँगै के.आई. नेपाललले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि पाएको जिम्मेवारी संस्थाले अझै प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता सहित खुसी व्यक्त गरेको जानकारी के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताएका छन् ।
हाल मानव बेचबिखनको स्वरूप बदलिँदै गइरहेको अवस्थामा नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श, भारत लगायत तेस्रो मुलुकमा विभिन्न बाहानामा तथा रोजगारीको सिलसिलामा अलपत्र अवस्थामा रहेकाहरुको उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालबालिकाको पुनर्स्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय सञ्चालनमा मद्दत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने, तथा समुदायमा सचेतनामूलक कार्यक्रम सँगसँगै व्यावसायिक तालिम तथा महिला सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
आ.व २०७३ / ७४ को तथ्याङ्क हेर्ने हो भने यस संस्थामार्फत ४६६ जना महिला तथा बालिकाको उद्धार गरी परिवारमा पुनर्मिलन गराउने कार्य यस संस्था मार्फत भएको छ साथै भारतका विभिन्न ठाउँहरूबाट ६ महिनाको अवधिमा ५ महिला र ३ किशोरीको उद्धार गर्न संस्था सफल भएको छ ।