नेपालमा २२ लाख मानसिक रोगी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपालमा २२ लाख मानसिक रोगी



काठमाडौँ- नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ। मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको छ ।

पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति ४० प्रतिशत छ। तीमध्ये कति जना मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा करीब २२ लाख ती समूहका व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरेको छ । सङ्गठनका अनुसार चारमध्ये एक युवा र पाँचमध्ये एक बालबालिका कुनै न कुनै मानसिक स्वास्थ्य समस्यबाट पीडित रहेका छन्। अर्को तर्फ मानसिक स्वास्थ्यको प्रत्यक्ष असर उदासिन (डिप्रेशन)ले पारेका छ। यही कारण १५ देखि २९ वर्ष समूहका व्यक्ति आत्महत्यासम्म गर्ने गर्दछन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्ति आत्महत्या गरेको थियो।

‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराकासाथ २६ औँ मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो। स्वास्थ्य सेवा विभागद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले हरेक प्रदेशमा मानसिक अस्पताल स्थापना गर्न र सबै वडामा स्वास्थ्य सेवा पुर्‍याउने गृहकार्य सरकारले गरिरहेको जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार डा कृष्णकुमार राईले मानसिक स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

स्वास्थ्य सेवा विभाग मानसिक स्वास्थ्य शाखाका डा वासुदेव कार्कीले मानसिक स्वास्थ्यको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको बताए। मानसिक स्वास्थ्य विशेषज्ञ डा अरुणराज कुँवरले मानसिक स्वास्थ्यमा लगानी बढाउन आग्रह गरे।

सो अवसरमा मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत प्रा डा देशराज कुँवर, डा देवरत्न जोशी, भगवी भट्टराई, यमुना कटुवाल, दिवाकर गौतम तथा सञ्चारकर्मी रामप्रसाद न्यौपाने, सरोज ढुङ्गेल तथा हाम्रो डक्टर डट कमलाई सम्मान गरेको छ।