१८ किलो सुनले बनाइयो मनकामना मन्दिर - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

१८ किलो सुनले बनाइयो मनकामना मन्दिर



पोखरा : प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ। १३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो। जीर्ण भएको मन्दिरलाई भूकम्पले थप जीर्ण भएपछि भत्काइएको थियो।

नेपाल सरकार र भक्तजनबाट आएको रकमबाट जीर्णाेद्वार सम्पन्न भएको मन्दिर जीर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए। ‘जीर्णोद्वारको काम सकिएको छ, सरसफाइको काम बाँकी छ,’ श्रेष्ठले भने, ‘सरसफाइको काम सकेपछि दसै‌ंमा भक्तजनले मन्दिरमै पूजा गर्न पाउँछन्।’ अहिले मनकामना मन्दिरकै छेउमा मन्दिरको प्रतिमा बनाएर पूजा गर्ने व्यवस्था मिलाइएको छ। सरकारको चार करोड र भक्तजनको आठ करोड रुपैयाँले मन्दिर जीर्णोद्वार गरिएको अध्यक्ष श्रेष्ठलले जानकारी दिए। जीर्णोद्वार गरिएको मन्दिरमा तामाको पातामा सुनको जलपले पोतिएको छ। मन्दिर पुरै सुनौलो देखिएको छ।

सुनकै जलप लगाएर गजुर समेत राखिएको छ। १८ किलो सुन खर्चेर मन्दिरमा जलप लगाइएको समितिले जनाएको छ। मन्दिरको आँगनमा ढुंगा छाप्ने काम पनि गर्न लागेको छ। ‘मन्दिरको पछाडि भागमा पर्खाल लगाउने र आँगनमा ढुंगा पनि छाप्ने तयारीमा छौँ’ उनले भने, ‘यति गरेपछि मन्दिरको आयु पनि बढ्ने छ।’