मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुस :प्रवक्ता शर्मा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुस :प्रवक्ता शर्मा



दमक । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेस मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुपर्ने औंल्याएका छन् ।

झापाको गौरादहमा काङ्ग्रेस नगर समितिले आज आयोजना गरेको ४२औँ राष्ट्रिय मेलमिलाप दिवस सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले पार्टी एकता र पार्टी विस्तारका लागि जुनसुकै र जस्तोसुकै भूमिका निर्वाह गर्न सबै कार्यकर्ता तयार रहनुपर्ने बताए ।

काङ्ग्रेसको महासमिति बैठकले पार्टी भित्रका गुटउपगुटको अन्त्य गरेको बताउँदै उनले भने, ‘अब काङ्ग्रेसमा कुनै पनि गुटको अस्तित्व छैन, पार्टीभित्र काङ्ग्रेस मात्र छ ।’

युवा नेता शर्माले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्ष भएर जनताका अधिकार र समृद्धिमा सक्रिय भूमिका निर्वाह गरी आएको र आगामी दिनमा पनि त्यस्तो भूमिकालाई अझ सबल बनाउने बताए ।

कार्यक्रममा काङ्ग्रेसका जिल्ला सदस्य बद्री कार्कीले राष्ट्रिय मेलमिलापको नीतिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियता र स्वाधिनताको लागि पुनः सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने आवश्यकता भएको उल्लेख गरे ।

काङ्ग्रेस नगर सभापति यादवराज सेढाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय संसद् सदस्य महेन्द्रकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह लगायतले वर्तमान सरकारले विकास निर्माण कार्यलाई ध्यान दिन नसकेको आरोप लगाए ।

रासस