मानव अधिकार आयोगमै भ्रष्टाचार: अख्तियारमा उजुरीको चाङ, कार्यालय प्रमुख निस्फिक्री - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

मानव अधिकार आयोगमै भ्रष्टाचार: अख्तियारमा उजुरीको चाङ, कार्यालय प्रमुख निस्फिक्री



बुटवल- राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश शाखा कार्यालयका प्रमुख झंकरबहादुर रावलमाथि भ्रष्टाचारको छानविन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चरम आर्थिक अनियमितता गरेको उजुरीहरु परेपछि मानव अधिकार आयोगले आफ्नो कार्यालयको बचाउ गर्दै आरोपको छानविन आफैले गर्ने भनी अख्तियारलाई आश्वस्त गरेको थियो ।

तर आयोगका सहसचिव डा.टिकाराम पोखरेलको नेतृत्वमा हालै स्थलगत भ्रमणमा आई कागजातहरु नियन्त्रणमा लिई छानविन र अनुसन्धान गरेपनि रावललाई नै जोगाउने गरी प्रतिवेदन पेश गरिएकोले अख्तियार असन्तुष्ट रहेको बताइएको छ ।

अख्तियारको टोलीले नेपालगञ्ज कार्यालयमा छापा मारी अनुसन्धानको दायरामा नल्याउने हो भने आयोगभित्रको भ्रष्टाचार नरोकिने देखिएको छ । स्थलगत भ्रमणमा नै नगई कागजातहरु मिलाएर लाखौं भत्ता बुझ्ने गरेको, धनगढी घरमा जाँदा समेत भ्रमण काज मिलाउने गरेको, अन्तरक्रिया गोष्ठीमा उपस्थिति नै नभएका व्यक्तिहरुको नक्कली हस्ताक्षर गरी हाजीर गर्ने गरेको, नक्कली बील भरपाई तथा भौचर उठाई लाखौं अनियमितता गरेको उजुरीहरु अख्तियारमा परेको छ ।

तत्काल निलम्बन गर्नुपर्ने कार्यालय प्रमुख रावल आफूमाथि कुनै कारवाही नहुने भएपछि छाती फुकाएर हिंड्ने गरेका छन् ।

मानव अधिकार संरक्षण र संवद्र्धन गर्ने संवेदनशील निकायका प्रमुख नै आर्थिक अनियमिततामा लिप्त हुँदा समेत कारवाही नहुनुले मानव अधिकारकर्मीहरु तथा सर्वसाधारण रुष्ट भएका छन् ।