शिक्षा र स्वास्थ्यको क्षेत्रमा कुनै सम्झौता हुँदैन: नगर प्रमुख ममता चौधरी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

शिक्षा र स्वास्थ्यको क्षेत्रमा कुनै सम्झौता हुँदैन: नगर प्रमुख ममता चौधरी



विशाल पाण्डेय / सुखड ,कैलाली ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा कुनै पनि किसिमको सम्झौता नगरिने बताए ।

घोडाघोडी नगरपालिका -१ सुखडमा नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर सात र रेडियो कैलालीको आयोजना तथा वल्ड भिजन इन्टरनेसनलको सहयोगमा सोमबार सम्पन्न भएको बालविवाह न्युनिकरण सम्बन्धी छलफल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा कुनै पनि किसिमको सम्झौता नगरिने बताएका हुन ।

नगर प्रमुख चौधरीले घोडाघोडी नगरपालिकामा पनि बालविवाह डर लाग्दो अवस्थामा रहेको बताए । साथै विभिन्न कारणहरूले बाल विवाह गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गइरहेको समेत नगर प्रमुख चौधरी बताए । उनले भने , ‘गरिबी र परम्पराका कारण बाल विवाह समाजबाट हट्न नसकेको हो ।’ चौधरीले आफू शिक्षक हुने बेलामा पनि बाल विवाह सम्बन्धी विद्यार्थीहरूलाई विभिन्न किसिमको जानकारी दिएको बताए । साथै नगर प्रमुख चौधरीले शिक्षा र स्वास्थ्यमा सबै भन्दा बढी बजेट विनियोजन गरिएको समेत जानकारी दिए । उनले भने , ‘ जनचेतनाको कमीले बालविवाह बढी दलित र थारु समुदायमा हुने भएकाले न्युनिकरणका लागि सबै पक्षसँग सह कार्य गर्दै घोडाघोडी नगरपालिकाका सबै वडामा २० वर्ष नपुगी विवाह दर्ता गराउन आउनेको विवाह दर्ता गराउँदैनौ ।’

यस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बुढाले बाल विवाह न्युनिकरण गर्नु हामी सबैको दायित्व रहेको बताए । उनले भने , ‘ विद्यालयमा शिक्षकहरूले पढाउँदा पनि आफ्ना विद्यार्थीहरूलाई बाल विवाह गर्न हुन्न भन्ने सकारात्मक सोच दिएर शिक्षा दिएको खण्डमा पनि बाल विवाह गर्न केही न्यूनीकरण हुन्छ ।’ अहिले प्रविधिको विकासले गर्दा पनि बाल विवाह बढेको बताउँदै वडाध्यक्ष बुढाले प्रविधिहरूको सही सदुपयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममामा बोल्दै शिक्षक शिव प्रसाद ढकालले महिला २० वर्ष र पुरुष २२ वर्ष भन्दा मुनिको विवाह बदर हुने बताए । बाल विवाह रोक्न स्थानीय सरकार चनाखो हुनु पर्नेमा ढकालले जोड दिए । साथै ढकालले बाल बालिकाका आमा बुवालाई बाल विवाह बाट हुने समस्याको बारेमा बुझाउन जरुरी रहेको बताए । उनले भने , ‘बाल बालिकाका आमा बुवा सचेत भयो भने बाल विवाह आफै न्युनिकरण हुन्छ ।’

त्यस्तै महिला अधिकारकर्मी सावित्री आचार्यले बाल विवाह न्युनिकरण सम्बन्धी स्थानीय स्तरमा अभियान नै सञ्चालन गरिनु पर्ने बताइन् । साथै उनले बालबालिकाको लागी छुट्टाएको बजेट बालबालिकाले नै खर्च गर्नु पाउनु पर्नेमा जोड दिइन् । त्यस्तै कार्यक्रममा बोल्दै शिक्षक तथा मानव अधिकारकर्मी टङ्क संज्यालले बाल विवाहले गर्दा विभिन्न हिंसाका घटना बढेको चिन्ता व्यक्त गरे । विद्यालय,समाज, अभिभाबहरु यस बारेमा सचेत हुन पर्ने बताउँदै संज्यालले प्रत्येक गाउँ – गाउँ घर घरमा बाल विवाह सम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताए । कार्यक्रममामा बोल्दै घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जियालाल आचार्यले पहिला आफ्ना बाल बालिका लाई घर बाट नै सचेत गराउनु पर्ने बताए । आमा बुवाले आफ्नो बच्चाले के गरीरहको छ ? कहाँ जाँदै छ ? यी विभिन्न कुरामा ध्यान दिने र राम्रो शिक्षा दीक्षा दिएको खण्डमा बाल विवाह न्युनिकरण हुने आचार्यले बताए ।

यस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगर युवा सञ्जालकी उपाध्यक्ष तथा पत्रकार लक्ष्मी भट्टराईले बाल विवाह सम्बन्धी सचेतनाका कार्यहरू गाउँ गाउँमा गएर आफूहरूले पनि सञ्चालन गरिरहेको बताउँदै समृद्धि नगरपालिका बनाउनको लागि सबै मिली एक स्थानमा नभई गाउँ गाउँमा पुगी औपचारिक तथा अनौपचारिक रूपमा शिक्षा दिनुपर्ने आवश्यक रहेको बताइन् । साथै कार्यक्रममा बोल्दै नगर स्तर बाल सञ्जालका अध्यक्ष हुकुम आचार्यले आफ्नो सञ्जालले हरेक वडामा विभिन्न काम गरिरहेको बताउँदै उहाँले यो बाल विवाह जटिल समस्या रहेको हुँदा यसमा स्थानीय सरकार र शिक्षकहरू विशेष गरी लाग्नु पर्ने आग्रह गरे ।

रेडियो कैलालीका प्रबन्ध निर्देशक नवराज खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासङ्घ प्रदेश नं ७ का उपाध्यक्ष चाँदनी आचार्यले गरेकी थिइन् ।