मालिङ्गा र प्रदीप चम्किएपछि खेल रोमाञ्चक : अफगानिस्तान फेरी पराजित - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

मालिङ्गा र प्रदीप चम्किएपछि खेल रोमाञ्चक : अफगानिस्तान फेरी पराजित



एजेन्सी – श्रीलंकाले एक दिवसिय विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा अफगानिस्तालाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा समेटियो ।

उसका लागि नजीबुल्लाह जादरानले ५६ बलमा ६ चौका सहित ४३ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । अफगानिस्तानले पहिलो विकेटका रुपमा पाँचौ ओभरको चोथो बलमा ओपनर मोहम्मद शहजादलाई ७ रनमा गुमाएको थियो ।

आठौं ओभरको पाँचौ बलमा रामत शाहलाई इसुरु उडानाले एन्जिलो मेथ्युजबाट २ रनमा क्याच आउट गराए । ९ औं ओभरको चौथो बलमा नुवान प्रदीपले तिसेरा परेराबाट क्याच गराउनु अघि हज्रतुल्लाह जजाईले २५ बलमा ३ चौका १ छक्का सहित ३० रनको योगदान दिए ।

हशमतुल्ला शाहिदी ४ र मोहम्मद नाबी ११ रनमा आउट भएपछि अफगानिस्तान संकटमा परेको थियो । नजीबुल्लाह जदरान र कप्तान गुलबद्दीन नाईबले छैटौं विकेट ६४ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको पाँचौ बलमा नाईबलाई २३ रनमा एलपी डब्लू आउट तोडेका थिए । उनले ३२ बलमा २ चौका प्रहार गरे ।

२७ ओभरको पहिलो बलमा राशिद खानलाई प्रदीपले २ रनमा बोल्ड आउट गर्दै अफगानिस्तानलाई दबाबमा राखे । लासिथ मालिगांले दवालत दजरान र हमिद हसनलाई समान ६ रनमा बोल्ड आउट गरेपछि श्रीलंकाको पहिलो जित पक्का बनेको थियो ।

श्रीलंकाको जितमा नुवान प्रदीपले ९ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लाथिस मालिगांले ६.४ ओभरमा ३९ रन खर्चेर ३ विकेट हात पारे । तिसेरा परेरा र इसुरु उडानाको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि श्रीलंकाले अफगानिस्तानलाई जितका लागि ४१ ओभरमा १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । । वर्षाले असर गरेको खेलमा श्रीलंकाले अलआउट हुँदै २ सय १ रन जोडेको थियो ।

कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १३ ओभर सम्म ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि निरन्तर मध्यमक्रम र तल्लोक्रम्मा विकेट गुम्दा श्रीलंकाले बलियो लक्ष्य दिन सकेन ।

कप्तान करुणारत्नेले ४५ बलमा ३ चौका सहित ३० रनमा आउट भए । १४ ओभरको पहिलो बलमा दिमुथलाई क्याच गराउँदै नाबीले पहिलो सफलता दिलाएका थिए । दिमुथ आउट भएसँगै विकेट पतन जारी रह्यो ।

अफगानिस्तानका नाबीले २२ औं ओभरको दोस्रो, चौथो र छैटौं बलमा क्रमशस् लाहिरु थिरिमाने, कुशल मेन्डिस र एन्जिलो मेन्थिज गरि मध्यक्रमका तीन ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेपछि श्रीलंका संकटमा परेको थियो । नाबीले तारिमानेलाई २५ रनमा बोल्ड तथा मेन्डिस २ र मेथ्युज शून्यमा रहमत शाहबाट पहिलो स्लिपमा समातिएपछि अफगानिस्तान खेलमा फर्किएको थियो ।

धनन्जय डि शिल्भा शुन्य, थिसरा परेरा २ र इसरु उडाना १० रनमा आउट भएपछि श्रीलंका कमजोर अवस्थामा पग्यो । ओपनर कुशल परेराले सर्वाधिक ७८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ३३ ओभरको दोस्रो बलमा राशिद खानले मोहम्मद शामीबाट एट विहान्ड निकाल्दै पेभिलिएन फर्काउनु अघि परेराले ८१ बलमा ८ चौका प्रहार गरे ।

वर्षाका कारण ३४ अौं ओभरमा खेल रोकिँदा श्रीलंकाले १ सय ८२ रन जोड्दै ८ विकेट गुमाएको थियो । त्यसपछि खेल ४१ ओभरमा घटाइएको थियो । श्रीलंकाले ३६.५ ओभरमा अल आउट हुँदै २ सय १ रनमात्र बनाउन सफल भयो । सुरंगा लकमल १५ रनमा नटआउट रहे ।

मोहम्मद नाबीले ९ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । राशिद खान र दवालत जदरानले २/२ तथा हमिद हसनले १ विकेट हात पारे ।