मालीका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सेनाको नियन्त्रणमा - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

मालीका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री सेनाको नियन्त्रणमा



एजेन्सी- निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ। सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो।

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो। सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने देखिएको छ।

मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा राखिएकाहरूलाई तत्काल बिनासर्त रिहा गर्न भनेका छन्।

राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो। यो बीचमा उनीहरूको सेनासँग असन्तुष्टि बढेको थियो। मुख्य पद सेनाले आफ्नो नियन्त्रणमा राख्न थालेपछि उनीहरू असन्तुष्ट थिए।

राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर सेनाले यसपालि के गर्न खोजेको भन्ने स्पष्ट भइसकेको छैन।