देउवाले भने: 'मलाई जिताउन के गर्नुपर्छ त्यो सोच्नुस्' - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

देउवाले भने: ‘मलाई जिताउन के गर्नुपर्छ त्यो सोच्नुस्’



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास (बूढानीलकण्ठ) मा पार्टीको १४औं महाधिवेशनका उम्मेदवार छान्नेबारे आफ्नो (संस्थापन) पक्षको बैठक गरिरहेका छन्।

बैठकमा देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशमरण महत, रमेश लेखक, एनपी साउदलगायत केन्द्रीय सदस्यहरू सहभागी छ। बैठकमा देउवाले १४ औं महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूबाट भरपूर साथ खोजेका छन्। उनले महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूसँग आफूलाई कसरी सभापतिमा जिताउन सकिन्छ त्यसबारे छलफल गरिरहेका छन्। साथै उनले उम्मेदवारको इच्छा पनि सोधेका बैठकमा सहभागी एक नेताले बताए।

यता संस्थापनइतर समूहले पनि साझा उम्मेदवार खोज्न निकै दौडधूप चलाएको छ। हिजो राति बैठक गरे पनि त्यसले ठोस निर्णय दिएको थिएन। यद्यपि महामन्त्री शशांक कोइरालाले भने सभापतिमा आफ्नो दाबी छाड्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई उठाउनुपर्ने आफूले बैठकमा प्रस्ताव गरेको बताएका थिए।

साथै उनले शेखर कोइराला र प्रकाशमान मिल्न तयार भए पौडेलले पनि सभापतिको दाबी छाड्नुपर्ने संकेत गरेका थिए।

आज बिहान पनि यो समूहको बैठक बिनानिष्कर्ष सकिएको थियो। दिउँसो तीन बजे पुनः बैठक बस्ने जनाइएको छ। संस्थापनइतर समूहले आज भने जसरी पनि सभापतिको साझा उम्मेदवार छान्ने जनाएको छ।