सीपी मैनालीले भने: व्यवस्था फेरियो,अवस्था फेरिएन
काठमाडौं- नेकपा (माले)का महासचिव सीपी मैनालीले व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले २००७ सालदेखि लड्दै आएको भए पनि जनताको अवस्था उस्तै रहेको बताए। “धेरैले भन्न थालेका छन्- व्यवस्था फेरियो,अवस्था फेरिएन,” मैनालीले भने, “यस्तो किन भएको होला? ठूलो प्रश्न छ।”
उनले राजनीतिक परिवर्तनका लागि सबै दल लड्दै आएको भए पनि जनता र देशको अवस्था परिवर्तन गर्नतर्फ ध्यान नपुगेको जिकिर गरे। अब सबै दलले एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ।
संसद् र सरकार प्रभावशाली नभएको उनको भनाइ छ। संसद् चल्न नसकेको र सरकार जनताका अवस्था सुधारमा लाग्न नसकेको मैनालीको जिकिर छ।
उनले अहिले व्यवस्था नै अप्ठ्यारोमा परेको बताए। चुनावी खर्च बढेको उनको भनाइ थियो।