एमसीसी संसदबाट पारित गरे नेपालको कानूनभन्दा माथि हुन्छः सीपी मैनाली - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एमसीसी संसदबाट पारित गरे नेपालको कानूनभन्दा माथि हुन्छः सीपी मैनाली



काठमाडौं- नेकपा मालेका महासचिव सीपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन नगर्न आग्रह गरेका छन् । एमसीसी सदनबाट पारित गर्नु नपर्ने भन्दै गरेमा देशको कानूनभन्दा माथि हुनजाने उनको भनाइ छ ।

मैनालीले यस्तो खालका अनुदानलाई सदनबाट पारित गर्न आवश्यक नरहेको उल्लेख गर्दै सदनबाट पारित गरेपछि कानुनको मान्यता दिनपर्ने बताए । नेपालको संविधान, मूल कानूनहरु संसदका प्रस्तावहरु भन्दा पनि यो सम्झौता माथि हुने तर्क गर्दै मैनालीले भने, ‘नेपालको कानुनभन्दा माथि एमसीसी हुन्छ ।’

राजधानीमा आयोजित कार्यक्रममा मैनालीले एमसीसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेको पनि उल्लेख गरे । अमेरिकामा एउटा हेडक्वाटरमा तत्कालीन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा संसदबाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर गरे । पछि अमेरिकाले संसदबाट पारित गर्न चिठ्ठी पठाएपछि नेपालका नेताहरु त्यसको दुष्परिणामको हेक्का नराखी संसदबाट पारित गर्न तयार भएको उनको भनाइ छ । ‘पुरानो नजिर नहेरी यसलाई सदनबाट पारित गरेमा के हुन्छ ?’ उनले प्रश्न गरे । एमसीए एकाउण्टमा कार्यरत कर्मचारीले नेपालको नभई एमसीसी हेडक्वाटरको निर्णय मान्ने पनि उनले जिकिर गरे ।

‘कुनै पनि काम गर्न परेमा नेपाललाई नसोधी एमसीएले सिधै हेडक्वाटरसँग सल्लाह गर्छ,’ उनले भने, ‘अमेरिकाको यो परियोजनाका ठेकेदारहरु डोनरले भनेअनुसार हिँड्छन् । परियोजना निर्माण गर्दा ल्याउने ठूला–ठूला ट्यांकरलाई नेपालले जाँच्न नपाउने हुँदा कन्टेनरमा के हुन्छ त्यसमा शंका छ । अमेरिकाले हाम्रो कामदार हो भनेपछि नेपालले कामदारलाई आवासीय भिसा दिन पर्ने र उनीहरुलाई १४ वटा कर पनि छुट दिनुपर्छ ।’ त्यसरी कन्टेनर हुँदै अमेरिकाबाट हतियार, कमाण्डरहरु नेपालमा भित्रने सम्भावना रहेको उनको आशंका छ ।