प्रधानमन्त्रीले भने मैले झुटो बोलेको छैन ! - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रधानमन्त्रीले भने मैले झुटो बोलेको छैन !



प्रधानमन्त्री केपी ओलीले संसद्मा आफूले आइतबार प्रस्तुत गरेका तथ्यांक सही भएको जिकिर गरेका छन् । उनले संसद्मा सम्बोधन गर्दै सरकार बनेपछिको १० महिना तथा चालू आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

तर, प्रधानमन्त्रीले प्रस्तुत गरेका अधिकांश तथ्यांक गलत थिए, कतिपय तथ्यांक तोडमोड गरिएको थियो । सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा तथ्यांक तोडमोड गरेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो ।

तर, प्रधानमन्त्री ओलीले आफूले प्रस्तुत गरेका तथ्यांक नै सही भएको जिकिर गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ६८औँ वार्षिक साधारणभामा उनले झुटा आँकडा पेस नगरेको दाबी गरे ।

काठमाडौंमा सोमबार आयोजित नेपाल चेम्बर अफ कमर्सको साधारणसभामा ओलीले भने, ‘मैले पेस गरेको आँकडा तथ्यमा आधारित छ, झुटो आँकडा प्रस्तुत गरेको छैन ।’

‘मैले हिजो संसद्मा बोल्दा हामीले गएका १० महिनामा र चालू आवको पाँच महिनामा गरेको प्रगतिका बारेमा चर्चा गरेँ, तर ती चर्चालाई केहीले चुनौती दिएका छन्, विरोध र असहमति जनाएका छन्,’ उनले भने, ‘असहमति त जनाउन अधिकार छ, तर ती असहमतिमा आधारचाहिँ छैन, मैले पेस गरेको आँकडा तथ्यमा आधारित छ, झुटो आँकडा प्रस्तुत गरेको छैन ।’

प्रधानमन्त्री ओलीले आइतबार संसद्मा प्रस्तुत गरेको तथ्यांकका सन्दर्भमा अर्थ मन्त्रालयले स्पष्टीकरण सार्वजनिक गरेको छ । यस आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार मुद्रास्फीतिदर ३ दशमलव ७ प्रतिशतमा झरेको दाबी अर्थ मन्त्रालयले गरेको छ ।

तर, हालसम्म नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको चार महिनाको मात्रै मूल्यवृद्धिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । त्यसअनुसार ४ दशमलव २ प्रतिशत नै मूल्यवृद्धि भएको अर्थ मन्त्रालयले स्वीकार गरेको छ ।

त्यस्तै, अर्थ मन्त्रालयले २०७५ मंसिरसम्मको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कूल खर्च ७ प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यसमध्ये चालू खर्च १३ प्रतिशतले घटेको र पुँजीगत खर्च २५.३ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।