घोडाघोडी महोत्सव सुरु
सुखड,कैलाली । “स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने नाराका साथ घोडाघोडी नगरपालिका-१ सुखडमा घोडाघोडी महोत्सव सुरु भएको छ । घोडाघोडी मिडिया संचार समुहको आयोजनामा ‘घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव’ आजदेखि सुरु भएको हो ।
घोडाघोडी मिडिया संचार समुहका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको प्रमुख अथिती सुदुरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट रहेकी थिइन् । कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै मन्त्री भट्टले जनतालाई प्रत्याभूति हुने खालको नीति निर्माण गरि पर्यटकीय गन्तव्यको बिकास र समृद्ध सुदूरपश्चिमको यात्रा तय गरिने बताइन् ।
जनताको जनजीविकाको सवाललाई उठान गरेर समस्या समाधानका लागि योजना बनाउने भन्ने बिस्तार अहिलेको तीनवटै सरकारसंग भएको मन्त्री भट्टले बताइन् । जनताको समस्या र गुनासोलाई सरकारले बुझिरहेको बताउदै मन्त्री भट्टले भ्रमण वर्ष २०२० केन्द्रित भएर प्रदेश सरकारले नीति, योजना तथा कार्यक्रम बनाइरहेको बताइन् ।
प्रकृतिको अनुपम उपहार, स्वर्गको एकटुक्रा खसेजस्तो सुदूरपश्चिम, देवभूमि, सुन्दरभूमि भएकाले यसक्षेत्रका पर्यटकीय गन्तव्यको अवलोकन गर्न मन्त्री भट्टले सबैमा आग्रह समेत गरिन् । स्रोत र साधनले सम्भावनाको खानी भएको बताउँदै त्यसको उपयोग गरी समृद्ध प्रदेश बनाउने गरि काम थाल्ने बताईन् । जनतालाई प्रत्याभुति हुने गरी कानुन निर्माण गरेर समृद्धिको यात्रा आरम्भ गरिने भट्टले बिश्वास व्यक्त गरिन् ।
महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रतन थापा, अमर साउँद, जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा, घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी,उप प्रमुख प्रेम कुमारी थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गरिएको आयोजक घोडाघोडी मिडिया सञ्चार समूहले जनाएको छ । महोत्सवले जिल्लाको पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
आज देखि सुरु भएको महोत्सव माघ १२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको संचालन पत्रकार प्रकाश मिश्रले गरेका थिए । साथै शुक्रबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाण , कामना ओलि तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।