घोडाघोडीको आइशोलेसनमा रहेकी एक महिलाको मृत्यु
विशाल पाण्डेय/कैलाली –
कैलालीमा आइसोलेशनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-११ को आईसोलेशनमा रहेकी ३५ बर्षीया महिलाको साेमबार राती करिब ८:३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
केहिदिन अघि भारतबाट आइ आइसोलेसनमा राखिएकी मृतक महिलाका दुबै किड्नी फेल भएकाले भारतबाट घर ल्याईएको बुझिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।
दुबै किड्नी फेल भएकाले भारतको अस्पतालमा डाइलेसिस गरि उपचार गराएपनी लामो समयदेखि डायलेसिस गराउन नपाउदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
रावतले भने, ‘उनको श्रीमान र ५ वर्षिया छोरीमा कोरोना देखिएपछि महिलालाई पनि आईसोलेसनमा राखिएको थियो । सोमवार साँझ उनको मृत्यु भएको छ, स्वाब संकलन गरि सेती प्रादेशिक अस्पतालमा पठाइसकेका छौं । रिपोर्ट आएपछि थाहा हुन्छ ।, रावतले थपे ।’
उनको स्थायी घर बझाङ रहेको र भारतबाट आफन्तको घरमा आएको बुझिएको छ ।